नाडासँगको छलफल पछि मात्र सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका जारी गरिने

काठमाडौं । सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ नाडा (नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन) सँगको विस्तृत छलफलपछि मात्र जारी गरिने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ।

आज नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी निर्देशिकाका प्रावधानबारे छलफल गरेको हो।

महानिर्देशक पोखरेलले निर्देशिका तयारी अन्तिम अवस्थामा रहे पनि नाडा जस्ता सरोकारवालाहरूसँग थप छलफलपछि मात्र नीतिगत स्पष्टता ल्याइने बताए। उनले नेपालमा सवारी साधन आयातसम्बन्धी हालसम्म स्पष्ट नियम नभएको भन्दै निर्देशिकाले त्यसलाई व्यवस्थित गर्ने विश्वास व्यक्त गरे।

उक्त अवसरमा अध्यक्ष चौधरीले विभागले तयार गरिरहेको निर्देशिका सम्बन्धमा जिज्ञासा राख्दै विभागको तयारी र अध्ययनको प्रशंसा गरे। उनले निर्देशिका लागू गर्नुअघि विभाग र नाडा बीच थप संवाद र सहकार्य आवश्यक रहेको धारणा राखे।

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकाका केही बुँदाहरु थप छलफलसहित यथार्थ र व्यावहारिक बनाउन जोड दिए। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सवारी साधन सम्बन्धी नीतिमा सरकारले गलत गर्नेहरूलाई दण्ड र सही काम गर्नेहरूलाई प्रोत्साहन दिने व्यवस्था गर्नुपर्ने धारणा राखे। उनले नेपालमै व्याट्री उद्योग स्थापना भइसकेको तथ्य प्रस्तुत गरे।

यता विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनका मापदण्डहरूको अध्ययन गर्दै निर्देशिका तयार पारिएको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार