राप्ती हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सतशप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत असार १ गतेदेखि निष्कासन भएको हकप्रदमा आवेदन दिने दिन यसअघि असार २२ गतेसम्म रहेकोमा २ दिन थप गरी असार २४ गतेसम्म कायम गरिएको थियो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्काशन गरेको हो । यस आधारमा हाल १ कित्ता शेयर कायम रहेका शेयरधनीहरुले नयाँ १ कित्ता शेयर खरीद गर्न पाउनेछन् ।

यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिन बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एपी इस्यूअर बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले ५ मेगावाट क्षमताको रुकु गाड जलविद्युत आयोजना निर्माणका लागि लिइएको कर्जा भुक्तानीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो । शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार