काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि साउन २३ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले साउन २ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन १ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १८.९५ प्रतिशत लाभांश प्रस्ताव गर्ने भएको छ । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले २५ करोड ९४ लाख ६७ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो । यो सँगै विगत पाँच वर्ष यता कै बढी लाभांश यो वर्ष वितरण गर्न लागेको हो ।
कम्पनीले यस अघि आर्थिक वर्ष ०७३/७४ मा २०.२१ प्रतिशत लाभांश वितरण गरेको थियो भने त्यस पछिका वर्षमा भने २० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

