काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले असार १ गतेदेखि २४ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा सोही रकम बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७१ हजार ६५ जना आवेदकहरुमा ५४ लाख २३ हजार ८२७ कित्ता हकप्रद शेयर असार ३२ गते बाँडफाँट गरेको हो । उक्त अवधिमा ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर भने बिक्री हुन सकेन ।
अवितरित हकप्रद शेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५ मेगावाट क्षमताको रुकु गाड जलविद्युत आयोजना निर्माणका लागि लिइएको कर्जा भुक्तानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ कायम हुनेछ ।

