काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीले साउन ४ गते मर्जर सम्बन्धी समझदारी पत्रमा सम्झौता गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएको हो ।
समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ चुक्तापूँजी रहेको छ भने पोखरा फाइनान्स १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ चुक्तापूँजी भएको कम्पनी हो । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समृद्धि फाइनान्स ३ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ भने पोखरा फाइनान्स ७ करोड १९ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।
तेस्रो त्रैमाससम्म समृद्धि फाइनान्सको जगेडा कोष रकम २८ करोड ५४ लाख रुपैयाँभन्दा बढी छ भने पोखरा फाइनान्सको १ अर्ब ८ करोड रुपैयाँ भन्दा बढी छ । यी दुबै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हुन ।

