काठमाडौं ।वित्तीय अवस्था कमजोर बन्दै गइरहेका दुई वित्तीय संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड एकअर्कामा गाभिने भएका छन् । दुई संस्थाबीच एकीकृत कारोबारको लागि १:१ को स्वाप रेसियोमा सहमति भएको हो, जसअनुसार दुवै संस्थाका शेयरधनीहरूले बराबर मूल्यका शेयर पाउनेछन् ।
मर्जरपछि बन्ने संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममै रहनेछ भने केन्द्रीय कार्यालय भने हालको पोखराबाट स्थानान्तरण भई काठमाडौंमा सर्नेछ । संयुक्त सञ्चालक समितिमा समृद्धिबाट चार जना, जसमा अध्यक्ष पनि समावेश हुनेछन्, र पोखराबाट तीन जना रहने गरी संयोजन मिलाइएको छ ।
दुबै संस्थाका मर्जर समितिका संयोजक समृद्धिका तर्फबाट सुदिप घिमिरे र पोखराका तर्फबाट तिलबहादुर गुरुङले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा दुबै कम्पनीका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
मर्जरपश्चात बन्ने संयुक्त संस्थाको चुक्ता पूँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । यद्यपि, दुवै कम्पनीको सञ्चित कोष ऋणात्मक अवस्थामा रहेकाले संयुक्त सञ्चिति ९३ करोड ४५ लाख १६ हजार रुपैयाँले ऋणात्मक हुनेछ। संयुक्त निक्षेप करिब ९ अर्ब ५० करोड र कर्जा लगानी करिब ७ अर्ब ४७ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।
पोखरा फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा सकारात्मक भए पनि समृद्धिको भने ऋणात्मक -५ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, खराब कर्जा अनुपातमा पोखरा फाइनान्सको अनुपात ३१.२५ प्रतिशत रहेको छ भने समृद्धिको १६.४२ प्रतिशत रहेको छ । नेटवर्थको हिसाबले समृद्धिको ५३ रुपैयाँ ६३ पैसा र पोखराको ४८ रुपैयाँ ७५ पैसा रहेको छ।