नेप्से सूचक ११ महिना यताकै उच्च विन्दुमा, २० अर्ब भन्दा धेरैको कारोबार

काठमाडौं । सेयर बजार ११ महिना यताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार नेप्से सूचक ८०.९७ अंकले बढेसँगै बजार गएको भदौ ६ गते यताकै हाई पोइन्टमा पुगेको हो । आज मार्केट २९७३.७० विन्दुमा बन्द भएको छ । २० अर्ब ८ करोड भन्दा धेरैको कारोबार भएको छ । लगानीकर्ताहरुको बजार प्रति आकर्षण बढ्दा सूचकमा वृद्धि देखिएको हो ।

केही दिन अघिदेखि आएको वृद्धिले बजारमा सकारात्मक माहोल बन्दै गएको देखाउँछ । त्यसो त, नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरुले गत वर्षको चौथो त्रैमासको वित्तीय रिपोर्ट पनि सार्वजनिक गर्न थालेका छन् । पब्लिस भएको रिपोर्ट पनि राम्रो देखिएको छ । त्यस्तै, अबको केही महिना पछि लाभांशको सिजन पनि सुरु हुन्छ ।

अहिले लाभांश वितरण क्षमता भएका कम्पनीको सेयर खरिद गरेर केही महिना होल्ड गर्ने लगानीकर्ताले लाभांश हात पार्न सक्नेछन् । यता, राष्ट्र बैंकले पनि बजार मैत्री नीति लिएको छ ।

मौद्रिक नीतिमार्फत सेयरधितो कर्जामा लगाइएको क्याप खुकुलो पारिएको छ । लघुवित्त संस्थाहरुको लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको व्यवस्था परिमार्जन गरिने कुरा पनि उक्त नीतिमा छ । यता, मुद्दतिको ब्याजदर निकै न्यून विन्दुमा झरिसकेको छ । त्यसैले पनि अब सेयर बजारमा लगानी भित्रिने सम्भावना धेरै रहेको बजारका अनुभवि लगानीकर्ताहरुको भनाई छ ।

पछिल्लो केही दिनयता कारोबार रकमसँगै बजार पनि बढेको छ ।  बैंक तथा वित्तीय संस्थाहरु स्वयं पनि अहिले सेयर बजारमा सक्रिय छन् । यसरी संस्थागत लगानीकर्ता सक्रिय हुँदा खुद्रा लगानीकर्ताहरु पनि बढी भरोसा लिएर बजारमा प्रवेश गरिरहेका छन् ।

साथै, सेयर बजारमा चक्र अनुसार उतारचढाव आउँछ । विगतमा बजार लामो समयसम्म घटेपछि अहिले पुन: तीव्र वृद्धिको चरणमा छ । साथै, फोमोको कारणले धेरै नयाँ लगानीकर्ता बजारमा प्रवेश गरिरहेका छन् । नेपालको सेयर बजार दैनिक रुपमा वृद्धि हुनुमा विभिन्न नीतिगत सुधार, आर्थिक परिसूचकहरुमा सकारात्मक संकेत, र लगानीकर्ताको बदलिँदो व्यवहारको परिणाम हो ।

मंगलबार ५ वटा कम्पनीको सेयर भाउ ९ प्रतिशत भन्दा धेरैले बढेको छ । कारोबार भएका ३१९ वटा स्क्रिप्टमध्ये २३६ को भाउ बढेको छ भने १४ वटाको घटेको छ । सबै उपसमूहहरु बढेका छन् । जसमध्ये सबैभन्दा धेरै उत्पादन समूह ४.५६ प्रतिशत, जीवन बिमा समूह ४.४२ प्रतिशत, लघुवित्त समूह ४.१० प्रतिशत बढेको छ । आज अधिकांश उप समूहमा चमक देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार