काठमाडौं । कुनै समय आर्थिक संकटमा परेका पाकिस्तान र श्रीलंकाको सेयर बजार भने अहिले नयाँ हाई विन्दुमा कारोबार हुँदैछ । दक्षिण एसियाली राष्ट्रहरुमा यी २ देशको सेयर बजार मात्र अल टाइम हाईमा कारोबार हुँदैछन् । केही समय अघि आर्थिक मन्दी, उच्च मुद्रास्फीति, राजनीति अस्थिरता र विदेशी मुद्रा सञ्चितमा देखिएको कमीका कारण एफडीआइ पनि भित्रिएको थिएन ।
तर, अहिले यी देशहरुको सेयर बजार अल टाइम हाईमा छ । अर्थतन्त्रको ऐना भनिने सेयर बजार अहिले हालसम्मकै उच्च विन्दुमा छ । लगानीकर्ताहरुको सेयर बजार प्रति आकर्षक बढेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग, ऋण पुनर्संरचना, विदेशी लगानी आकर्षण र सकारात्मक लगानी वातावरणका कारण दुवै देशका पुँजी बजारमा उत्साह देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तान स्टक एक्सचेन्जको ‘केएसई १००’ बेन्चमार्क १ लाख ३९ हजार विन्दुमा पुगेको छ । श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्जको अल सेयर इन्डेक्स पनि अल टाइम हाई १९ हजार विन्दुमा पुगेको छ । त्यसैगरी, अर्को एस एन्ड पी एसएल २० सूचकांक ५ हजार ६ सय अंक भन्दा माथि छ ।
पाकिस्तानले आइएमएफसँग ३ अर्ब डलरको स्ट्यान्ड बाई एरेन्जमेन्ट अन्तर्गत नयाँ किस्ताको रकम प्राप्त गरेपछि लगानीकर्ताको मनोबल उच्च बनेको हो । यससँगै विदेशी मुद्रा सञ्चिति सुधार हुँदा मुद्रा स्थिरतामा पनि मद्दत पुगेको छ ।
श्रीलंकाको हकमा सरकारद्वारा अघि बढाइएको ऋण पुनर्संरचना प्रक्रिया, आइएमएफ तथा अन्य कर्जा दिने मुलुकहरुसँग सहकार्य र सुधारिएको राजस्व नीतिले पुँजी बजारमा सकारात्मक संकेत दिएको छ । श्रीलंकाली मुद्रा स्थिरता र आयातमा सहजताले समेत लगानीकर्ताको आत्मविश्वास बढाएको विश्लेषकहरु बताउँछन् ।
बजार सुधारका पछाडिको महत्वपूर्ण पक्ष भनेको लगानीकर्ताको सकारात्मक मनोविज्ञान पनि हो । सरकारको नीतिगत स्थायित्व, आइएमएफको भरोसा र विदेशी लगानीकर्ताको चासोले खुद्रा लगानीकर्तालाई समेत उत्साहित बनाएको छ । आर्थिक मन्दीबाट विस्तार तर्फ जान थालेका दुवै देशमा ब्याजदर घट्ने अपेक्षा पनि गरिएको छ ।
यद्दपि, पाकिस्तान र श्रीलंकाको आर्थिक अवस्था अझै पूर्ण रुपमा सुधारिएको छैन, तर पछिल्ला नीतिगत पहल, विदेशी सहयोग र मुद्रा स्थिरताले सेयर बजारमा नयाँ जीवन फर्किएको छ । विश्लेषकहरुका अनुसार यदि सुधारका प्रयासहरु निरन्तरता पाउँछन् भने दुवै देशका पुँजी बजारले दीर्घकालीन वृद्धिको सम्भावना बोकेको छ ।

