काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी साउन १५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजीको ३८.३३ प्रतिशत बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो । जसअनुसार यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि क्रमशः १० लाख ३० हजार ५०० र २ लाख ९१ हजार १५० कित्ता शेयर छुट्याएर बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणअन्तर्गत अब सर्वसाधारणका लागि कुल २४ लाख २३ हजार १८५ कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो । यसमा कुल निष्काशनमध्ये ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीहरू र १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

