काठमाडौं । साताको पहिलो दिन अर्थात, आइतबार नेप्से सूचक १८.४४ अंकले घटेको छ । बजार दोहोरो अंकले घटेर २९६४.२० विन्दुमा झरेको हो । आज २६ अर्ब ५७ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । यो कारोबार रकम गएको भदौ २ गते यताकै उच्च हो । आज नाफा बुक गर्नेहरुको संख्यामा वृद्धि आउँदा बजार घटेको हो । कारोबार रकम बढ्नु र सेयर बजार घट्नुले नाफा बुक गर्नेहरु बढेको संकेत गर्छ ।
यद्दपि, मार्केट अझै पनि बुलिस रहेको सेयर बजारका विश्लेषणकहरुको भनाई छ । मार्केट बढ्दा बेलाबेला सामान्य करेक्सन पनि आवश्यक पर्छ । यसले बजारलाई थप मजबुत बनाउँछ ।
यता, सूचीकृत कम्पनीहरुले गत वर्षको चौथो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्न सुरु गरिसकेका छन् । रिपोर्ट सार्वजनिक गर्ने कम्पनीहरुको वित्तीय अवस्था निकै सुधार भएको देखिन्छ । अरु कम्पनीहरुको पनि उक्त रिपोर्ट राम्रो आउने अनुमान लगानीकर्ताहरुको छ । त्यसैले पनि यसअघि बजारमा राम्रो वृद्धि देखिएको विज्ञहरु बताउँछन् ।
त्यसैगरी, अबको केही महिना पछि लाभांशको सिजन पनि सुरु हुनेछ । अहिले लाभांश वितरण क्षमता भएका कम्पनीको सेयर खरिद गरेर केही महिना होल्ड गर्ने लगानीकर्ताले लाभांश हात पार्न सक्नेछन् ।
राष्ट्र बैंकले पनि बजार मैत्री नीति लिएको छ । मौद्रिक नीतिमार्फत सेयरधितो कर्जामा लगाइएको क्याप खुकुलो पारिएको छ । लघुवित्त संस्थाहरुको लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको व्यवस्था परिमार्जन गरिने कुरा पनि उक्त नीतिमा छ । यता, मुद्दतिको ब्याजदर निकै न्यून विन्दुमा झरिसकेको छ । त्यसैले पनि अब सेयर बजारमा लगानी भित्रिने सम्भावना धेरै रहेको बजारका अनुभवि लगानीकर्ताहरुको भनाई छ ।
बैंक तथा वित्तीय संस्थाहरु स्वयं पनि अहिले सेयर बजारमा सक्रिय छन् । यसरी संस्थागत लगानीकर्ता सक्रिय हुँदा खुद्रा लगानीकर्ताहरु पनि बढी भरोसा लिएर बजारमा प्रवेश गरिरहेका छन् ।
साथै, सेयर बजारमा चक्र अनुसार उतारचढाव आउँछ । विगतमा बजार लामो समयसम्म घटेपछि अहिले पुन: तीव्र वृद्धिको चरणमा छ । नेपालको सेयर बजार बढ्नुमा विभिन्न नीतिगत सुधार, आर्थिक परिसूचकहरुमा सकारात्मक संकेत, र लगानीकर्ताको बदलिँदो व्यवहारको परिणाम हो ।
आइतबार कारोबार भएको ३२३ स्टक्रिप्ट मध्ये ६३ वटाको भाउ बढेको छ भने १८६ वटाको भाउ घटेको छ । विकास बैंक, उत्पादन, म्युचुअल फन्ड र ट्रेडिङ समूह बाहेक अरु सबै उपसमूह घटेका छन् । ३ वटा कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।

