काठमाडौं । पछिल्लो ८ कारोबार दिनमा सेयर लगानीकर्ताको सम्पति २ खर्ब ९७ अर्ब ५८ करोड रुपैयाँले घटेको छ । अर्थात, गत जुलाई २९ मा नेप्सेको बजार पुँजीकरण ५० अर्ब ९ अर्ब ४६ करोड रुपैयाँ थियो । अगस्ट ११ सम्म आइपुग्दा उक्त पुँजीकरण ४७ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ । अर्थात, जुलाई २९ यताको ८ कारोबार दिनमा बजार पुँजीकरण करिब ३ खर्ब रुपैयाँले घटेको छ ।
त्यसो त, पछिल्लो केही दिनयता धेरैजसो सूचीकृत कम्पनीहरुले गत वर्षको चौथो त्रैमासिकसम्मको उत्कृष्ट वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय रिपोर्ट राम्रो आउँदा बजार स्वाभाविक रुपमा बढ्ने अपेक्षा गरिन्छ, तर वास्तविकता अहिले भने फरक देखिएको छ ।
यस्तो हुनुको पहिलो कारण भनेको नाफा बुक गर्नेको संख्यामा वृद्धि आउनु हो । जब बजार उच्च विन्दुमा पुग्छ तब, नाफा बुक गर्नेहरु पनि बढ्छन् । पछिल्लो महिना केही कम्पनीहरुको मूल्यमा उल्लेखनीय वृद्धि भएको थियो । यसपछि छोटो अवधिमा धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गरेका हुन् । जसले बजारमा अस्थायी दबाब सिर्जना गरेको छ ।
नेप्से सूचक केही समयअघि महत्वपूर्ण प्रतिरोध स्तरमा पुगेको थियो । उक्त विन्दुमा नाफा बुक गर्नेहरु बढे तर खरिदकर्ता सोही अनुसार बढेनन् । जसकारण इन्डेक्समा दबाब देखियो । यता, लगानीकर्ताको मनोबल पनि कमजोर देखिएको छ । सेयर बजारमा लगानीकर्ताको मनोबल अत्यन्त महत्त्वपूर्ण हुन्छ । जब भविष्यप्रति विश्वास र आशा बलियो हुन्छ, लगानीकर्ताहरु जोखिम लिन तयार हुन्छन् । तर अहिलेको अवस्था भने केही फरक देखिएको छ ।
यद्दपि, सेयर बजारका जानकारहरुले अहिले इन्डेक्समा ‘हेल्दी करेक्सन’ देखिएको बताउँछन् । बजार बढेपछि करेक्सन पनि आवश्यक हुन्छ । त्यसैले अहिले आएको गिरावटले बजारलाई थप मजबुत बनाउने उनीहरुको तर्क छ ।

