काठमाडौं । आजबाट सुरु भएको नाडा अटो शो २०२५ मा पहिलो पटक फ्लाइङ कार डीपल eVTOL प्रदर्शनमा राखीएको छ । नाडा अटो शो २०२५ मा बिगतमा जस्तै नयाँ नयाँ इनोभेटिभ आइडिया, प्रविधि र उत्पादनहरू सार्वजनिक भएका छन् ।
फ्लाइङ कार डीपल eVTOL को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रुपमा गरेका हुन् । उद्गाटन कार्यक्रममा अध्यक्ष अग्रवालले , “नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो।” त्यस्तै प्रबन्ध निर्देशक सिकरियाले भने, “नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिन सक्ने यस प्रविधि ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ।”
फ्लाइङ कार बनाउनका लागि डीपल निर्माण गर्ने कम्पनी चांगान अटोमोबाइल र EHang ले सहकार्य गरेर व्यक्तिगत यातायातको लागि नयाँ र आधुनिक उपाय ल्याएका हुन् ।
डीपल चांगान अटोमोबाइलको नयाँ इनर्जी सब-ब्रान्ड हो, जुन चीनका सबैभन्दा ठूला अटोमोबाइल निर्माता कम्पनीमध्ये एक हो। त्यस्तै EHang भने विश्वकै अगुवा अटोनोमस हवाई सवारी निर्माता हो जुन कम्पनीले पहिलोपटक व्यवसायिक रूपमा नै पाइलटविहिन यात्रु बोक्ने eVTOL उपलब्ध गराएको थियो। यी दुवै कम्पनीको साझा उद्देश्य भनेको EHang को अटोनोमस उडान प्रविधिमा आधारित नयाँ पुस्ताका eVTOL विकास गर्ने, उत्पादन गर्ने र बजारमा ल्याउने रहेको बताएका छन्।
दुवै कम्पनीको लक्ष्य हवाई यातायातलाई केवल विलासिता मात्र नबनाई फ्लाइङ कारलाई सुरक्षित, वातावरणमैत्री र सजिलो बनाउँदै सर्वसाधारणको लागि पनि प्रयोगयोग्य बनाउने र यसलाई सबैका लागि पहुँचयोग्य बनाउने रहेको जनाएका छन् । नाडा अटो शो २०२५ माप्रदर्शनमा राखिएको डीपल eVTOL यही सहकार्यको प्रत्यक्ष उपज हो।
चांगानको सन् २०३० सम्ममा अन्य आधुनिक यातायात सोलुसन्स विकास गर्न २.७६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना रहेको बताएको छ ।
डीपल eVTOL सीधै माथि उड्न र भुइँमै फर्केर अवतरण गर्न सक्षम छ, जसले भविष्यको दिगो यातायातको नयाँ विकासलाई देखाउँछ। डीपलमा हवाई इन्जिनियरिङ र अत्याधुनिक इलेक्ट्रिक प्रपल्सन प्रविधिको संयोजन छ जसले सडकमा हुने भीड कम गर्न, ध्वनि प्रदूषण घटाउन र कार्बन उत्सर्जन नियन्त्रण गर्न सहयोग गर्ने दाबी गरिएको छ । यसको ‘कुल’ डिजाइन आकर्षक र स्मार्ट प्रविधिले भरिपूर्ण छ। यो नयाँ प्रविधिहरूको आधुनिक रूप हो यातायात अब परम्परागत तरिकाले सडकमा मात्र सीमित छैन, सुरक्षा, दक्षता र पृथ्वीको स्वास्थ्यलाई प्राथमिकता दिँदै यो आकाशसम्म पनि फैलिँदैछ।
लामो समयदेखि विश्वस्तरीय उत्पादन ल्याउँदै ग्राहकहरूको विश्वास र निष्ठा जित्दै आएको एमएडब्लु वृद्धि ग्रुपका लागि यो अर्को उल्लेखनीय उपलब्धि हो। यो प्रस्तुति नाडा २०२५ को सुरुवात मात्र होइन, नेपालको अटोमोबाइल इतिहासमै महत्वपूर्ण क्षणको रूपमा दर्ज हुनेछ।

