नेपाल धितोपत्र बोर्डमा पूर्ण सञ्चालक, आईक्यानको तर्फबाट सीए आनन्दराज शर्मा वाग्ले मनोनीत

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति पूर्ण बनेको छ । यसअघि बोर्डको सञ्चालक समितिमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान) बाट प्रतिनिधिको पद रिक्त रहेको थियो । आईक्यानको तर्फबाट उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले बोर्ड सञ्चालक समिति सदस्यमा मनोनीत भएका हुन् ।

आईक्यानले आफ्नो प्रतिनिधिको रुपमा उनलाई मनोनयन गरेर पठाएसँगै भदौ ६ गते बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उनलाई स्वागत गर्दै पद तथा गोपनीयताको शपथसमेत गराएका छन् ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ३(२)(ङ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहेबमोजिम सीए आनन्दराज शर्मा वाग्लेलाई बोर्ड सदस्यका रूपमा मनोनयन गरिएको बोर्डलेसमेत सूचनामार्फत जानकारी गराएको छ ।

बोर्डमा यसअघि नेपाल उद्योग वाणिज्य महासंघबाट उपाध्यक्ष हेमराज ढकालसमेत सञ्चालन समिति सदस्यमा मनोनीत भएका थिए । स्वार्थ बाझिने भन्दै नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट हटाउने तयारी भइरहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि बोर्ड सञ्चालकमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार