हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ गतेदेखि इकाई निष्कासन गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले एचएलआई लार्ज क्याप फण्ड सञ्चालन गर्ने भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि भदौ १५ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गर्न लागिएको हो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना सञ्चालनका लागि प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका ४० करोड इकाई जारी हुनेछ । कुल इकाईमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्कासनमा ल्याउन लागिएको हो ।

यी इकाईका खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ४ करोड इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । निष्कासन अवधि छिटोमा भदौ १८ गतेसम्म तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ २९ गतेसम्म निष्कासन लम्बिनेछ ।

योजना व्यवस्थापकसँगै इकाई निष्कासन तथा विक्री प्रबन्धकमा समेत हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाइन पनि आवेदनका लागि प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार