काठमाडौं । सञ्चालनमा रहेका ४९ म्युचुअल फन्डहरुको नाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो महिना अर्थात, गत वर्षको असारमा फन्डहरुको नाफा ७ अर्ब ४ करोड थियो । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो ।
फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा उतरचढाव आउँदा नाफा पनि तलमाथि हुन्छ । यता, ४९ मध्ये २९ वटाले मात्र नाफा कमाएका छन् । बाँकी घाटामा छन् । रिपोर्ट अनुसार साउन महिनामा फन्डहरुको सेयर बजारमा ४९ अर्ब ७४ करोड ७ लाख रुपैयाँ लगानी रहेको देखिएको छ ।
कुन म्युचुअल फन्डको कति लगानी ?
सञ्चालनमा रहेका सामूहिक लगानि कोषमध्ये सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागिता फन्डको रहेको छ । साउन महिनामा यसको सूचीकृत कम्पनीको सेयरमा ६ अर्ब भन्दा धेरैको लगानी रहेको छ । असारमा ४ अर्ब ९२ करोड लगानी थियो । एनएमबि सरल बचतको ३ अर्ब २२ करोड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ को १ अर्ब ४३ करोड लगानी रहेको छ ।
२० वटा फन्डहरुको लगानी १ अर्ब भन्दा धेरै छ । समग्रमा म्युचुअल फन्डहरुले ४९ अर्ब ७४ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यो अघिल्लो महिनाको भन्दा १.५६ प्रतिशत धेरै हो । स्टक मार्केट घट्दा पनि लगानी भने बढेको छ ।


न्याभ
प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा धेरै १३.४२ रुपैयाँ छ । त्यस्तै, हिमालयन ८०-२० को न्याभ १३.३४ रुपैयाँ छ । ४९ मध्ये ५ वटाको न्याभ १३ रुपैयाँ भन्दा धेरै छ । यता, ३ वटाको उक्त भ्याल्यू १० रुपैयाँ भन्दा कम देखिएको छ ।


नाफा
सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो महिनाको भन्दा ९८.९६ प्रतिशत कम हो । अघिल्लो महिना यिनीहरुले ७ अर्ब ४ करोड नाफा आर्जन गरेका थिए । ४९ मध्ये २९ वटाले मात्र नाफा आर्जन गरेका छन् ।



