१५ लाख खर्चेर चिडिया तालसम्म पदमार्ग निर्माण

कैलाली । घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँको लागतमा चार सय मिटर लामो पदमार्ग निर्माण गरेको हो ।

पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो ।

पदमार्ग निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई दृश्यावलोकन गर्न तथा वनभोजका लागि सहज हुने निमित्त प्रमुख बोहराले बताए । ‘पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण गरिएको हो,’ उनले भने ।

ताल क्षेत्रमा खानेपानी, उद्यानलगायत संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ । यसका लागि प्रदेश सरकारले योजना बनाइरहेको निमित्त प्रमुख बोहराले बताए ।

पूर्व–पश्चिम राजमार्गदेखि करिब दुई सय ५० मिटर उत्तरमा रहेको सो ताल सामुदायिक वन क्षेत्रमा पर्छ । उक्त क्षेत्रमा साना र ठूला गरी अन्य १२ वटा ताल रहेका छन् । रमणीय ठाउँ भए पनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय एकेन्द्र शाही बताउँछन् ।

पदमार्ग बनेपछि ताल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ । सीमसार क्षेत्र रहेकाले सो ताल क्षेत्रमा विभिन्न प्रजातिका चरा, कछुवा, माछा, अजिङ्गरलगायत पाइन्छन् ।

करिब ३० बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ । विश्व रामसार क्षेत्र सूचीकृत घोडाघोडी ताल नजिकै रहेकाले उक्त ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना गर्न सकिने घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले बताए ।

यसैगरी कैलालीको चुरे गाउँपालिका–६ स्थित चमेरो गुफासम्म समेत पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रू ६ लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको चुरे गाउँपालिकाका रोजगार संयोजक हीरा विष्टले जानकारी दिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार