काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्नु पर्ने बताएका छन् । उनले भट्टराईले भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्ने समेत बताएका छन् ।
‘भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्केर सलबलाई रहेका छन् । ती शक्तिलाई बेलैमा चिन्नुपर्छ । विदेशी शक्तिको आडमा विद्रोह गरेका भनेका छन् । तर यो विद्रोह यहाँका युवाहरूले आवश्यकताका अनुसार गरेका हुन्’, उनले भने, ‘भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छ, त्यसलाई छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्छ । उनीहरूका केही सम्पत्ति डढेको भनिएको छ, तर उनीहरूका सम्पूर्ण सम्पत्ति छानबिन नगरिईकन भ्रष्टाचार अन्त्य हुन सक्दैन ।’
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षबाट बुधबार पद त्याग गरेका उनले आज पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् ।
उनले नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको प्रष्टीकरण दिएका छन् । विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएकोप्रति सचेत रहन उनले आग्रह गरेका छन् ।
‘म कुनै आन्दोलनबाट अलग भएको छैन । नयाँ वैकल्पिक शक्तिको अभियानमा हिजो पनि थिएँ, आजपनि छु, भोलि पनि रहन्छु । हाम्रा नाति पुस्ता आइसके उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले नैतिकताका आधारमा पद त्याग गरेको हुँ । नयाँ शक्ति अभियानबाट अलग भएको छैन । यसमा विल्कुल भ्रम नरहोस्’, उनले भने ।
राजनीति स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन अनिवार्य भएको उनले दोहोर्याए । देश र जनताको परिवर्तनका लागि आफूले आजीवन लड्दै आएको एक राजनीति प्रणाली भएको जिकिर गरे । भदौ २३ र २४ गतेको जेनजी विद्रोह २००७ साल देखिको लोकतान्त्रीकरण गर्ने नयाँ कडी भएको उनले बताए ।

