भीमफेदी-कुलेखानी-फाखेल र त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा  । अविरल वर्षापछि अवरुद्ध भएका मकवानपुर हुँदै काठमाडौं जोड्ने मुख्य सडक खण्डहरूमध्ये केही सोमबार बिहानैदेखि पुनः सञ्चालनमा आएका छन् भने केही सडक अझै पनि अवरुद्ध छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) मार्गमा सवारीसाधनको आवागमन पुनः सुरु भएको छ।

तर, भीमफेदी–कुलेखानी–सिस्नेरी खण्ड र कान्ति लोकपथ अझै अवरुद्ध नै रहेको प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए। उनका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा रहेको डोडारे खोलाले राजमार्गकै केही भाग बगाएको छ। साथै, दक्षिणकाली मन्दिरनजिक ठुलो पहिरो गएको कारण सो खण्डमा सवारी सञ्चालन हुन नसकेको हो।

प्रहरी निरीक्षक सापकोटाका अनुसार सो सडकखण्डको सिस्नेरी भागमा सडक पुनः स्थापना र दक्षिणकाली क्षेत्रमा पहिरो पन्छाउने कार्य भइरहेको छ।

यस्तै, कान्ति लोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीन ठुला पहिरोले सडकका केही भाग बगाएका छन् भने हेटौँडादेखि बगुवा खोलासम्म साना–ठुला गरी आधा दर्जनभन्दा बढी पहिरो खसेका छन् ।

प्रहरीका अनुसार कान्ति लोकपथमा खसेका पहिरो पन्छाउने र बगाएको सडक मर्मत गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार