पालिकाले मनोमानी गरेको भन्दै उद्योग वाणिज्य संघले गर्यो कर नतिर्ने घोषणा

काठमाडौं । भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि जनाउँदै यो कठोर कदम चालेको हो ।

अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीवारदेखि एक स्थानीय क्लबले ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टल राखेर मेला आयोजना गर्न लागेको र यसले स्थानीय व्यापारीहरुलाई निरुत्साहित गर्ने र थप पीडा दिने भन्दै संघले विरोध जनाएको हो ।

भीरकोट उद्योग वाणिज्य संघले आफूहरुले राज्य पुनर्संरचना पछि व्यापारिक हकहितका लागि स्थापना कालदेखि नै नगरपालिकालाई रचनात्मक कार्यमा सहयोग गर्दै आएको स्मरण गराएको छ । संघले यसअघि दुईवटा भीरकोट महोत्सव सफलतापूर्वक सम्पन्न गरी भीरकोट, स्याङ्जा जिल्ला र समग्र गण्डकी प्रदेशको पहिचान, चिनारी, र कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।

‘हाल देशको विषम परिस्थिति र आर्थिक शिथिलताका बाबजुद स्थानीय सरकारलाई पटक-पटक लिखित तथा मौखिक अनुरोध गर्दागर्दै, सीमित राजनैतिक दादागिरीको आडमा स्थानीय क्लबलाई व्यापारिक मेला गर्न अनुमति दिइयो,’ विज्ञप्तिमा भनिएको छ, ‘संघसँग कुनै सहमति नगरी यस्तो निर्णय गरिएकाले हामी यो निर्णय लिन बाध्य भएका छौं ।’

गत १८ गते बसेको संघको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अर्यालले बताए । उनले भने, ‘हामीले निर्णयमार्फत संघमा आबद्ध सम्पूर्ण उद्योगी, व्यापारी, व्यवसायीहरु र भीरकोटवासीलाई समेत स्थानीय सरकारलाई कुनै पनि प्रकारका कर नतिर्न आह्वान गरेका छौं ।’

संघले यो ज्ञापनपत्रको बोधार्थ नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला समन्वय समिति स्याङ्जालाई समेत पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार