हरेक अमेरिकी नागरिकको टाउकोमा १ करोड ५६ लाख रुपैयाँ ऋणको भार, ७२ लाख ७५ हजार जना बेरोजगार

काठमाडौं । हरेक अमेरिकी नागरिकको टाउकोमा १ लाख १० हजार डलर अर्थात, नेपाली १ करोड ५६ लाख रुपैयाँ बराबरको सार्वजनिक ऋणको भार परेको छ । ‘यूएस डेब्ट क्लक’का अनुसार प्रत्येक अमेरिकी नागरिकको भागमा १ लाख १० हजार १७९ डलर बराबरको ऋणको भार परेको हो ।

२ वर्ष अगाडि अर्थात, २०८० असोज २६ गतेसम्म अमरिकी नागरिकको टाउकोमा ९९ हजार ८५७ डलर ऋण थियो । २ वर्षको समयमा उक्त ऋणभार १० हजार डलर भन्दा धेरैले बढेको छ । त्यसैगरी, प्रत्येक करदाता (ट्याक्सपेयर) को भागमा ३ लाख २६ हजार डलर सार्वजनिक कर्जाको भार परेको छ । उक्त दर थपिंदै गएको देखिन्छ ।

डेब्ट क्लकका अनुसार हाल अमेरिकाको सार्वजनिक ऋण ३७८ खर्ब ५४ अर्ब ६९ करोड डलर अर्थात, ३७.८५ ट्रिलियन डलर पुगेको छ । अमेरिकाको जनसंख्या ३४ करोड २३ लाख १६ हजार रहेको छ । त्यसमा बेरोजगारको संख्या ७२ लाख ७५ हजार रहेको तथ्यांकले देखाएको छ ।

यता, अमेरिकाको डेब्ट टु जीडीपी रेसियो १२४.८६ प्रतिशत पुगेको छ । सन् २००० मा ५५.९४ प्रतिशत र सन् १९६० मा ५२.३२ प्रतिशत थियो । अमेरिकाले कर र अन्य राजस्वबाट कमाएको भन्दा बढी खर्च गर्दा ऋण बढेको हो । सार्वजनिक ऋण, कर र खर्च नीतिहरुको परिणाम हो । यस्ता गतिविधिले नेपाल सरकारको पनि कर्जा बढेको छ ।

यता, नेपालको सर्वजनिक ऋण भने २७ खर्ब भन्दा धेरै छ । ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा नेपाल सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।  यसआधारमा एक नेपालीको भागमा ९१ हजार ४४५ रुपैयाँ ऋण भार पर्ने देखिन्छ । २ वर्ष अगाडि नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार