असोज २८ बाट सर्वोच्चले नयाँ मुद्दा दर्ता गर्ने

काठमाडौं । सर्वोच्च अदालतले असोज २८ गते मंगलबारदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ।  सर्वोच्च अदालतको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।

भदौ २४ गते सर्वोच्च अदालतमा जेनजी प्रदर्शनको क्रममा आगो लगाइएको थियो। उक्त आगलागीमा परि सर्वोच्च अदालतमा भएका झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्च अदालतले नयाँ मुद्दा हेरेर अघि बढ्न लागेको हो।

सर्वोच्च अदालत स्रोतका अनुसार नयाँ मुद्दा दर्ता हुने जानकारी कानुन व्यवसायी र नेपाल बार एशोसिएशनलाई दिने तयारी छ।

मंगलबारबाट नयाँ मुद्दा दर्ता भएसँगै सोही दिनबाट सुनुवाइ सुरू हुनेछ।

सर्वोच्च अदालतले हाल बन्दीप्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य स्थगन गर्दै आएको छ।

२०८२ साल असोज २६ मा बसेको पूर्ण बैठकको निर्णयानुसार यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता को दफा ७३, १३७ र १५५ का निवेदनहरु मिति २०८२ असोज २८ गतेबाट दर्ता एवं सुनुवाई हुने र अन्य सेवाहरु पुन: सूचना जारी भएपछि मात्र सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सर्वोच्च अदालतले जारी गरेको सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार