मुलुकभरका उद्योगका लागि ४९ खर्ब ३७ अर्ब लगानी स्वीकृत

काठमाडौं । नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा ४९ खर्ब रुपैयाँ भन्दा बढी लगानी स्वीकृत भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८० असारसम्म लगानी बोर्ड नेपाल, उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका उद्योगको ४९ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ बराबरको कुल लगानी स्वीकृत भएको छ । स्वीकृत कुल लगानीमध्ये उद्योग विभागमा दर्ता भएका उद्योगको कुल लगानी ५७.५ प्रतिशत लगानी वोर्ड नेपालमा दर्ता भएका उद्योगको २१.३ प्रतिशत र लघु, घरेलु तथा साना उद्योगको २१.२ प्रतिशत रहेको छ ।

त्यस्तै, लगानी बोर्डबाट २०८० फागुनसम्म ठूला पूर्वाधार परियोजनामा १२ खर्ब ४९ अर्ब ९० करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब ९८ अर्ब ८५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षमा १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
त्यस्तै, २०८० असारसम्म घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका ७ लाख ५ हजार १ सय ३२ वटा लघु, घरेलु तथा साना उद्योगमा १० खर्ब ४९ अर्ब ९ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । यस समितिमा दर्ता भएका उद्योगबाट २०८० असारसम्म ३६ लाख ७८ हजार ८ सय १२ रोजगारी सिर्जना हुने अनुमान छ । यस्ता उद्योगमा प्रति उद्योग प्रस्तावित औसत रोजगारी पाँच रहेको छ ।
२०७९ असारसम्म ६ लाख ७३ हजार २ सय ४४ लघु, घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भई ३३ लाख ८५ हजार ५ सय ३ रोजगारी सिर्जना हुने अनुमान थियो। साथै, प्रति उद्योग प्रस्तावित औसत रोजगारी पाँच रहेको अनुमान थियो । नवीकरण नभएका र लगत कट्टा भएका उद्योग संख्या कटाई ५ लाख ८९ हजार ८ सय ५४ रुपैयाँ लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको अनुमान छ ।
उद्योग विभाग अन्तर्गत २०८० फागुनसम्म ९.३४४ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५.० प्रतिशत, २२.६ प्रतिशत र ६२.४ प्रतिशत रहेको छ । यस अवधिसम्मको कुल स्वीकृत लगानी २९ खर्ब ९२ अर्ब ७० करोड रुपैयाँ मध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः ८३.४ प्रतिशत, १०.१ प्रतिशत र ६.५ प्रतिशत रहेको छ। यस्ता उद्योगबाट २०८० फागुनसम्म ६ लाख ९८ हजार ५ सय १० रोजगारी सिर्जना हुने अनुमान छ ।

यसैबीच गत आर्थिक वर्ष १.९८ प्रतिशतले ऋणात्मक रहेको औद्योगिक क्षेत्र ( उत्पादनमूलक उद्योग) को कुल मूल्य अभिवृद्धि ( उत्पादन ) चालु आर्थिक वर्ष समेत १.६ प्रतिशतले ऋणात्मक रहने अनुमान गरिएको छ । वस्तु तथा सेवाको समग्र मागमा कमी आएको कारण उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र विश्वव्यापीरूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा मुलुकका उद्योगको उत्पादनमा समेत सङ्कुचन देखापर्ने अनुमानका आधारमा यस क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान छ । पछिल्लो दशकमा उत्पादनमूलक उद्योगको औसत वार्षिक वृद्धिदर २.५९ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ४.८७ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो योगदान ५.१६ प्रतिशत रहेको थियो। पछिल्लो दशकमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान वार्षिक औसत ५.४६ प्रतिशत रहेको छ ।

त्यस्तै, पन्ध्रौं पञ्चवर्षीय योजनाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ६.५ प्रतिशत पु–याउने लक्ष्य राखे पनि लक्ष्य भन्दा न्यून उपलब्धि हासिल भएको छ । यस योजना अवधिभर औसत आर्थिक वृद्धिदर २.७८ प्रतिशत रहे पनि उत्पादनमूलक उद्योगको औसत वृद्धिदर ०.५५ प्रतिशत रहेको छ । साथै, यस योजना अवधिमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान वार्षिक औसत ५.२७ प्रतिशत रहेको छ । पछिल्ला ५ आवधिक योजना अवधिमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योग क्षेत्रको योगदान क्रमशः घट्दै गएको देखिन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार