काठमाडौं । भोटकोशी जलविद्युत आयोजनाको शेयर जेनजी समूहलाई निःशुल्क वितरण नगरिएको बताइएको छ ।
भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड बीच निःशुल्क सेयर दिने गरी सहमति नभएको बताइएको हो ।
भोटेकोशी पावर कम्पनीले असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनीधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड बीच निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै भन्यो,‘ सर्वप्रथम त दुवै कम्पनीबीच निःशुल्क सेयर लिने दिने सहमति नभएको स्पष्ट पार्न चाहान्छौ । भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले कम्पनीको १० (दश) प्रतिशत सेयरको लागि आवेदन दिन अगाडी जलविद्युत उत्पादन क्षेत्रका स्थानिय तहका प्रत्यक्ष प्रभावित स्थानिय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाईसकेपछि कम्पनीले प्रति सेयर बराबर अंकित मुल्य रु १००।– रहेको सेयर १० (दश) प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनी लाई बिक्री गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि कम्पनीले जमानी मात्रको व्यबस्था मिलाउने सहमति भएको स्पष्ट पार्न चाहान्छौ ।’
‘निर्माण सम्पन्न भईसकेको आयोजना भएकोले कम्पनीले बार्षिक रुपमा वितरण गर्ने लाभांसबाट १० (दश) प्रतिशत सेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएकोले यसलाई निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न सम्पूर्ण सञ्चारमाध्यम लगायत सरोकारवाला निकायलाई हार्दिक अनुरोध गर्दछौ , ’ सूचनामा भनिएको छ ।

