काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन भदौ) मा ६७ खर्ब बढी तरलता (कारोवारमा आधारित) प्रशोचन गरिएको छ । बैंकका अनुसार दुई महिनामा ६७ खर्ब ८५ अर्व ६० करोड ( कारोवारमा आधारित) तरलता प्रशोचन गरिएको हो । उक्त रकम मध्ये निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्व ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्व २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्व ६० करोड ( कारोवारमा आधारित) तरलता प्रशोचन गरिएको हो ।
गत आवको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक–पटक गरी खुद ४४ खर्ब ७६ अर्ब ४५ करोड तरलता प्रशोचन गरिएको थियो ।
तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले राष्ट्र बैङ्कले तरलताको व्यवस्थापन गर्ने काम गर्दै आएको छ । विभिन्न वित्तीय औजारको प्रयोग गरी राष्ट्र बैङ्कले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । तरलता कम भएमा रिपो जारी गरेर तरलता प्रवाह गरिन्छ भने अधिक भएमा रिभर्स रिपो जारी गरी तरलता प्रशोचन गरिन्छ ।
बैङ्किङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिन आएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैङ्किङ प्रणालीबाट तरलता प्रशोचन गर्न निक्षेप सङ्कलन गरिन्छ वा सोझै बिक्री उपकरण प्रयोग गरिन्छ । त्यस्तै सोझै खरिद उपकरणमार्फत तरलता प्रवाह गरिन्छ ।
यसबाहेक राष्ट्र बैङ्कले ऋणपत्रमार्फत पनि तरलता व्यवस्थापन गर्दछ । यसबाहेक ब्याजदर कोरिडोर, सिसिडी रेसियो, अन्तरबैङ्क कारोबारलगायतका नीतिगत व्यवस्था एवं मापदण्डको प्रयोग गरेर पनि राष्ट्र बैङ्कले तरलता व्यवस्थापन गर्ने गर्दै आएको छ ।
समीक्षा अवधिमा बैंकले विदेशी विनिमय बजार ( वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ६ करोड खुद खरिद गरी १ खर्ब ४९ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १ खर्ब ११ अर्ब ९७ लाख तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३८ करोड विक्री गरी ५३ अर्ब २४ करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५६ करोड बिक्री गरी ७५ अर्ब ३९ करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको थियो ।

