RE
Global College

ताराखेतमा थकाली ‘होमस्टे’

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ । तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गरेका हुन्। उक्त होमस्टेमा एक दिनमा २० जना पाहुना बास बस्न सक्ने क्षमता रहेको छ ।

सिङ्गा तातोपानी, टोड्के, बाबियाचौर, बरंजा, झाँक्रेपानी, दरवाङ घुम्न आउने पाहुनालाई लक्षित गरेर घरका कोठालाई व्यवस्थित गरेर घरबास सञ्चालन गरेको भट्टचनले बताए। “पाहुनालाई कृषि फार्ममा उत्पादन भएको ताजा तरकारी, दूध, दही, माछा, मासु, अण्डा, स्थानीय गौरीया, गुडुरा जातको धानको भात, कोदोको ढिँडो, रोटी, तरकारीका परिकारको स्वाद चखाउने गरेका छौ,” उनले भने “पुरानो घरलाई मर्मत गरेर पाहुना राख्ने कोठाहरु बनाएको छु ।”

यसअघि निर्माण व्यवसायमा सक्रिय भट्टचनको परिवारले जिल्ला सदरमुकाम बेनी बजारको बसाइँ छाडेर गाउँ फर्किएर होमस्टे चलाएको हो ।
पाहुनाहरुलाई खुवाउन स्थानीय जातका कुखुरा, बाख्रा, भैसीपालन गर्नुभएको छ । साग र तरकारी पनि फार्मबाटै उत्पादन हुन्छ । एकान्त र शान्त वातावरणमा मौलिक थकाली खानाका परिकारको स्वाद लिन सकिन्छ । तोराखेत गाउँ बेनी बजारदेखि १३ किलोमिटर पश्चिमतर्फ रहेको छ । प्राकृतिक उपचार स्थल सिङ्गा–तातोपानी कुण्डमा स्नान गर्न आउने पाहुनाहरु करिब पाँच किलोमिटर सडकमा सवारी साधनको यात्रापछि थकाली होमस्टेमा पुग्ने गरेका छन् ।

तोराखेत विसं २०६४ अघिसम्म व्यापारिक केन्द्र थियो । बाबियाचौर र दरवाङ सडक सञ्जालमा नजोडिँदासम्म बेनीबाट छुट्ने सवारी साधन तोराखेत पुगेर रोकिन्थे र बेनीतर्फ फर्कन्थे । बेनी आउने र फर्कनेदेखि मालिका, धवलागिरी र तमानखोला गाउँपालिकाका बस्तीहरूमा खाद्यान्न यहीबाट आपूर्ति हुने गर्दथ्यो । विसं २०६४ मा दरवाङ सिधा सडक सञ्जालमा जोडिएपछि ओझेलमा परेको तोराखेतमा थकाली होमस्टेले चहलपहल बढाउन थालेको छ ।

NECO

Leave Your Comment

Related News