काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले मलेसिया सरकारले जारी गरेको १० बुँदे मापदण्डका विषयमा छलफल अघि बढाएकी छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले मापदण्डबारे आज श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन् ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत विभिन्न सरोकारवाला निकायका उच्च अधिकारीको उपस्थिति थियो ।
छलफलपछि मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र भएको तर, यो नै अन्तिम नभएको निष्कर्ष निकालेको छ । द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालिएको हो ।

