CLI

पहिरोका कारण आज पनि पूर्णरूपमा बन्द बीपी राजमार्ग

काठमाडौं । आज पनि बीपी राजमार्गमा गाडी चलेका छैनन्। सडकमा लेदो थुप्रिँने र ढुंगा खस्ने क्रम नरोकिएकाले बीपी राजमार्ग आज पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले दिएको जानकारीअनुसार चौकीडाँडा, नार्के, चारसयबेँसी, डालाबेँसी लगायतका ठाउँमा अझै सडकको पहिरो र लेदो हटाउन सकिएको छैन।

लगातारको वर्षापछि पहिरो र लेदो सडकमा थुप्रिँदा गएको बिहीबार रातिदेखि नै बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो।

काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकिडाँडा, रोसी गाउँपालिका ७, रोसी ७ कै चारसयबेँसी, रोसी ११ को डालाबेँसी, रोसी ९ को बिरुवाडाँडा, कोक्सिकुना, नार्के लगायतका ठाउँमा अझै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक धेरै ठाउँमा अवरुद्ध भएकाले मर्मतमा समय लाग्ने प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध पूर्वी नेपाल आवतजावत गर्ने यात्रुले सास्ती पाएका छन्।

 

Leave Your Comment

Related News