काठमाडौं । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिए ।
मन्त्री श्रेष्ठका अनुसार जोन्छेको मङ्गलबार नै भक्तपुरस्थित हनुमानघाटमा अन्तिम दाहसंस्कार गरिनेभएको छ । जोन्छे राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा २०७८ पुसमा बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेकी थिइन् ।
उनी सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन् । पूर्व राज्यमन्त्री जोन्छे केही समयदेखि अस्वस्थ रहेकी थिइन् । उनको निधनले कांग्रेस र लोकतान्त्रिक आन्दोलन दुवै क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
नेत्री जोन्छेले लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन् ।

