काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ।
पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन्।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ। त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्।
यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ। बालाचतुर्दशीको अघिल्लो रात मंगलबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन्। मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन्।
यसरी आएका श्रद्धालु भक्तजनको मंगलबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो ।
बाला चतुर्दशी मेला– २०८२ का कारण आज दिउँसो गौशाला क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने सम्भावना छ ।
उपत्यका ट्राफिक प्रहरीका अनुसार पार्किङ र डाइभर्सनस्थल तय गरिएको छ । सिनामंगल, रातोपुल, कालोपुल र चाबहिलबाट गौशालातर्फ जाने सडकलाई सम्भावित डाइभर्सनस्थल तय गरिएको हो । तीर्थालुको भिड बढ्नेबित्तिकै ती स्थानबाट गौशाला जाने बाटो बन्द गरिने छ । तीर्थालुका निम्ति सिफल चौर, बनकाली र तिलगंगामा पार्किङको व्यवस्था छ ।


