काठमाडौं । कर्णाली प्रदेशका १० जिल्ला मध्ये सुर्खेत जिल्लामा सबैभन्दा बढी कृषि कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुरुप सुर्खेतमा सबैभन्दा बढी कृषि कर्जा प्रवाह भएको हो । आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्म सुर्खेतमा १ अर्ब ७६ करोड ३५ लाख कृषि कर्जा वितरण गरिएको छ ।
यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै सुर्खेतमा १ अर्ब ७६ करोड ३५ लाख कृषि कर्जा प्रवाहित भएको छ भने सबैभन्दा कम १२ करोड ८४ लाख मुगुमा प्रवाहित भएको देखिन्छ , अध्ययन प्रतिवेदनमा भनिएको छ ।
२०८२ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जामा गत वर्षको तुलनामा ७.७० प्रतिशतले ह्रास आई ४ अर्ब ९८ करोड ४९ लाख कायम भएको छ । समीक्षा वर्षमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन / पशुबधशाला शीर्षकमा १ अर्ब १६ करोड २९ लाख कायम भएको छ भने सिँचाई शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन ।
सुर्खेत पछि सल्यान, रुकुम पश्चिम, जुम्ला लगायतका जिल्लामा कृषि कर्जा वितरण भएको छ ।


