काठमाडौं । कर्णाली प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा कर्जा प्रवाह ६२ अर्ब बढी रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि २०८१/८२ अध्ययन प्रतिवेदन अनुरुप सेवा क्षेत्रमा कर्जा प्रवाह बढ्दा कृषि र औद्योगिक क्षेत्रमा कर्जा प्रवाह घटेको छ ।
कर्णाली प्रदेशका १० वटा जिल्लाहरु सुर्खेत, सल्यान, दैलेख, हुम्ला, जुम्ला, जारकोटर, कालिकोट, रुकुम पश्चिम, डोल्पा र मुगु जिल्लामा गरिएको अध्ययन अनुरुप उक्त निष्कर्ष निकालिएको हो ।
कर्णाली प्रदेश अर्थात् प्रदेशका १० वटा जिल्लामा गत आवमा सेवा, कृषि र औद्योगिक क्षेत्रमा ६२ अर्ब ११ करोड ९८ लाख कर्जा प्रवाह गरिएको छ । जसमध्ये सेवा क्षेत्रमा ५३ अर्ब ९ करोड ६२ लाख, कृषि क्षेत्रमा ४ अर्ब ९८ करोड ४९ लाख र औद्योगिक क्षेत्रमा ४ अर्ब ३ करोड ८७ लाख कर्जा प्रवाह गरिएको हो ।
सेवा क्षेत्र कर्जा
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८५.४७ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । आर्थिक वर्ष २०८१ /८२ को असार मसान्तसम्ममा सेवा क्षेत्रमा प्रवाहित कर्जामा ६.८० प्रतिशतले वृद्धि भई रु. ५३ अर्ब ९ करोड ६२ लाख पुगेको छ भने गत वर्षमा यस्तो कर्जा २.६० प्रतिशतले वृद्धि भएको थियो ।

कृषि कर्जा
२०८२ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जामा गत वर्षको तुलनामा ७.७० प्रतिशतले ह्रास आई रु. ४ अर्ब ९८ करोड ४९ लाख कायम भएको छ । समीक्षा वर्षमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन / पशुबधशाला शीर्षकमा रु. १ अर्ब १६ करोड २९ लाख कायम भएको छ भने सिँचाई शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन । यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै रु.१ अर्ब ७६ करोड ३५ लाख सुर्खेतमा प्रवाहित भएको छ भने सबैभन्दा कम रु १२ करोड ८४ लाख मुगुमा प्रवाहित भएको देखिन्छ ।

क्षेत्रगत औद्योगिक कर्जा
यस प्रदेशमा २०८१ को असार मसान्तमा रु.४ अर्ब ११ करोड ८६ लाख रहेको कुल औद्योगिक कर्जा २०८२ असार मसान्तमा १.९४ प्रतिशतले घटेर रु.४ अर्ब ३ करोड ८७ लाख कायम भएको छ । समीक्षा वर्षमा धातुका उत्पादन मेसिनरी तथा ईलेक्ट्रोनिक्स सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २१.१६ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा २९.९८ प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा सुर्खेतमा सबैभन्दा धेरै रु. २ अर्ब ४८ करोड ०९ लाख औद्योगिक कर्जा प्रवाह भएको छ भने डोल्पामा सबैभन्दा कम रु.१ करोड २९ लाख कर्जा प्रवाह भएको छ ।


