सुनचाँदी धितो कर्जा बढ्यो, कुन बैंकबाट कति प्रवाह ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब साढे ८६ अर्ब रुपैयाँ बराबरको सुन-चाँदी धितोमा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को असोजसम्म बैंक तथा वित्त संस्थाहरुले  ८६ अर्ब ४० करोड ३० लाख रुपैयाँ सुनचाँदी कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ४२.३१ प्रतिशत अर्थात, २५ अर्ब ६९ करोड रुपैयाँ बढी हो । गत वर्ष यी संस्थाहरुले ६० अर्ब ७१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यता, वाणिज्य बैंकहरुले मात्रै ८० अर्ब ७ करोड ४० लाख रुपैयाँको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको  तुलनामा ४४.०० प्रतिशत अर्थात, २४ अर्ब  ४६ करोड ८० लाख रुपैयाँले बढी हो । गत वर्ष बैंकहरुले ५५ अर्ब ६० करोड ६० लाख रुपैयाँको सुनचाँदी कर्जा प्रवाह गरेका थिए ।

२० वाणिज्य बैंकमध्ये नेपाल बैंकले सबैभन्दा धेरै सुनचाँदी कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले ३८ अर्ब २१ करोड ७० लाख रुपैयाँको सुनचाँदी कर्जा प्रवाह गरेको छ । यो रकम गत वर्षको असोजको तुलनामा १४ अर्ब ३८ करोड ३० लाख रुपैयाँ अर्थात ६०.३५ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले २३ अर्ब ८३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको उक्त कर्जा प्रवाह ३४.७३ प्रतिशत अर्थात ७ अर्ब २३ करोड १० लाखले बढेको छ । यता, ४ बैंकको भने उक्त किसिमको कर्जा प्रवाह घटेको छ । जसमध्ये, कृषि विकास बैंकको कर्जा ८१.२५ प्रतिशत अर्थात, १ करोड ३० लाख रुपैयाँ घटेको छ ।

प्रभुको ९३.४२ प्रतिशत कर्जा प्रवाह घटेको छ । त्यसैगरी, एनआइसी एसिया र एनएमबि बैंकको पनि कर्जा प्रवाह घटेको छ । यता,  एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, गलोबल आइएमई बैंक, सानिमा, हिमालयन  र नेपाल एसबीआई बैंकले सुनचाँदी धितोमा कर्जा प्रवाह गरेका छैनन्  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार