काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक रहेको दाबी गरेको छ ।
सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै २०८२ भदौ २३ र २४ गतेको जेन जी आन्दोलन तथा असमान्य परिस्थितिले मानवीय र भौतिक सम्पत्तिमा क्षति पुगेको छ । वर्षेवाली लगाउने समयमा मनसुनमा आएको ढिलाइ र असोज महिनामा भएको अधिक वर्षाका कारण कृषि उत्पादन केही प्रभावित भएको अनुमान गरेको छ । आन्दोलनपश्चात् बनेको सरकारले शान्ति सुरक्षा तत्काल कायम गर्दै सुशासन प्रवद्र्धन, क्षतिको पुनर्निर्माण र निजी क्षेत्रमैत्री नीतिगत सहजतामा जोड दिएको छ । साथै, यस बैंकले समेत नियामकीय लचकता कायम गरेकोले आर्थिक क्रियाकलाप विस्तार गर्न सघाउ पुगेको विश्वास लिएको बताएको छ ।
अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै आर्थिक वृद्धिलाई सहयोग पुयाउने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८२ / ८३ को मौद्रिक नीति २०८२ असार २७ गते सार्वजनिक गरिएको थियो । मौद्रिक नीति जारी भएपश्चात् राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको छ ।
विदेशी पर्यटकको आगमन बढेको छ । वस्तु आयातको वृद्धि कोभिडपूर्वको अवस्थामा पुगेको छ भने निर्यातमा समेत उल्लेख्य सुधार आएको छ । विप्रेषण आप्रवाहको बढोत्तरीले विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । मुद्रास्फीति लक्ष्यभन्दा न्यून छ । समग्र वित्तीय स्थायित्व कायम रहेको छ । बैकिङ क्षेत्रमा प्रचुर तरलता छ भने ब्याजदर न्यून छ । यद्यपि, कर्जा विस्तार अपेक्षित रूपमा हुन सकेको छैन ।
यस पृष्ठभूमिमा आर्थिक वर्ष २०८२ / ८३ को मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय अवस्था र समष्टिगत आर्थिक परिदृश्यका आधारमा आर्थिक वर्ष २०८२ ÷ ८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको छ ।
मुद्रास्फीति
२०८२ असोजमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । तरकारी, मसला, दाल तथा गेडागुडीको मुद्रास्फीति ऋणात्मक भएका कारण खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि २०८२ असोजमा २.५४ प्रतिशतले ऋणात्मक रहेको छ । गैर–खाद्य तथा सेवा समूहका मुद्रास्फीति भने ३.८० प्रतिशत रहेको छ ।
२०८२ असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.३२ प्रतिशत रहेको छ । यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा ५.५१ प्रतिशत रहेको थियो। यस अवधिमा तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो ।
बाह्य क्षेत्र
आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु. ७२ अर्ब ७८ करोड कायम भएको छ । यस अवधिमा वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ६८ अर्ब ८ करोड कायम भएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई रु. ३९५ अर्ब ३० करोड पुगेको छ ।
आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रयमासमा चालु खाता रु. २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर रु. २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर रु.१ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११.९ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ८ अर्ब ७७ करोड पुगेको थियो ।

