CLI

म्युचुअल फन्डहरुको लगानीको १८.७५ प्रतिशत हिस्सा बैंकको सेयरमा, ४ वर्षमा आधाले घट्यो, कुन समूहमा कति लगानी ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले स्टक मार्केटमा गरेको कुल लगानीको १८.७५ प्रतिशत हिस्सा वाणिज्य बैंकको सेयरमा रहेको देखिएको छ । गएको असोजसम्मको रिपोर्ट अनुसार फन्डहरुले वाणिज्य बैंकको ३ करोड ८ लाख भन्दा धेरै कित्ता सेयर होल्ड गरेका छन् । जसको बजार भाउ करिब ९ अर्ब रुपैयाँ जस्तो पर्न जान्छ ।

फन्डहरुले सेयर बजारमा गरेको कुल लगानीको १३.६५ प्रतिशत हिस्सा लघुवित्तको सेयरमा, १३.११ प्रतिशत निर्जीवन बिमामा, १२.१७ प्रतिशत जीवन बिमामा, ११.६८ प्रतिशत हाइड्रोपावरमा, ७.६९ प्रतिशत विकास बैंक र लगानीको ५.९८ प्रतिशत हिस्सा उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुको सेयर गरेको पाइएको छ ।

पछिल्लो समय म्युचुअल फन्डहरुले बैंकमा गरेको लगानी हिस्सा क्रमशः घटाउँदै आएका छन् । गत वर्षको असोजमा फन्डहरुले सेयर बजारमा गरेको कुल लगानीको २३.९२ प्रतिशत हिस्सा वाणिज्य बैंकको सेयरमा थियो । अघिल्लो वर्ष अर्थात, २०८०-८१ को असोजमा फन्डहरुको लगानीको २५.८७ प्रतिशत हिस्सा बैंकको सेयरमा थियो । २०७९-८० मा उक्त हिस्सा दर ३६.१२ प्रतिशत थियो ।

यता, फण्डहरुको लगानी हिस्सा अन्य, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, लगानी, होटल्स तथा पर्यटन र विकास बैंक समूहमा बढेको छ । त्यसो त, हाइड्रोपावर, अन्य र उत्पादन समूहका थुप्रै कम्पनीहरुले आइपीओ जारी गरेका छन् । फन्डहरुले पनि आइपीओमा लगानी गरेका हुन्छन् । त्यसैले पनि यी समूहमा लगानीको हिस्सा बढेको हो । तर, समूहिक लगान कोषहरुले बैंकहरुमा भन्दा अरु समूहका कम्पनीमा लगानी बढाएको देखिन्छ । त्यसैले लगानी हिस्सा क्रमशः घट्दै आएको हो ।

यद्दपि, कुल लगानी रकमलाई आधार मान्ने हो भने फन्डहरुको लगानी अझै पनि बैंकको सेयरमा धेरै छ । तर, पछिल्ला वर्षहरुको तुलनामा लगानीको हिस्सा भने कम हुँदै गएको छ । बैंकहरुको लाभांश क्षमता कम हुँदै जानु, खराब कर्जा बढ्नु, ग्रोथ घट्नु, ट्रेडहरुको रोजाईमा बैंकको सेयर नपर्नु, अरु समूह वा क्षेत्रमा लगानी गरेर बैंकबाट भन्दा धेरै प्रतिफल पाउन सकिने हुँदा फन्डहरुको आकर्षण अरु कम्पनीको सेयरमा परेको जानकारहरु बताउँछन् ।

त्यसैगरी, लघुवित्त समूहमा पनि लगानी हिस्सा घटेको छ । गएको असोजसम्म फन्डहरुले सेयर बजारमा गरेको लगानीको १३.६५ प्रतिशत हिस्सा लघुवित्त संस्थाहरुको सेयरमा छ । यसमा पनि माइक्रोफाइनान्सहरुको लाभांश दर कम हुँदै जानु प्रमुख कारण मानिएको छ ।

त्यसो त, म्युचुअल फन्डहरुले पनि सेयर बजारमा कारोबार गरेर पुँजीगत लाभ बढाउने तिरै केन्द्रित हुन्छन् । त्यसैले बजारमा जुन सेक्टरमा मुभमेन्ट आउँछ त्यही सेक्टरमा फन्डहरुले पनि लगानी गर्ने गर्छन् । पछिल्लो ५ वर्षमा म्युचुअल फन्डहरुले बैंक, ऋणपत्र र लघुवित्त समूहको सेयरमा गरेको लगानी हिस्सा घटेको देखिएको छ । जबकी, अरु समूहमा गरिएको लगानी हिस्सा बढेको छ ।

 

Leave Your Comment

Related News