सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईंसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शिवालय गाउँपालिकाअन्तर्गत चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहको बैंक खातामा रहेको रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उक्त उपभोक्ता समूहका पदाधिकारीहरूले आफूखुसी रकम निकासा गरी खर्च रकमको सक्कली बिल भरपाई नराखी रकम हिनामिना भन्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा उक्त उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दमाईंका साथै सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी रानाले विभिन्न मितिमा समितिको नेपाल बैंकको खातामा रकम हिनामिना गरेको खुलेको आयोगले जनाएको छ । यस्तै आयोगले लेखापरीक्षक भोजराज शर्मा पाण्डेलाई पनि प्रतिवादी बनाएको छ ।

आयोगले अध्यक्ष दमाईं र कोषाध्यक्ष रानाविरुद्ध ९ लाख ६५ हजार ८७३ रुपैयाँ र सचिव रानाविरुद्ध ८ लाख ४० हजार ८७३ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

यस्तै, आयोगले लेखापरीक्षक पाण्डेलाई पनि कैद र जरिवाना दुवै सजायको मागदाबी  गरेको छ ।​

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार