काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुनेगरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकिएको छ । यो नयाँ निर्णयसँगै नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् ।
पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य उपलब्ध गराइएको हो ।
देशभरका पोल्ट्री फार्मको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ ।
त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) ५८०, ठूलो अण्डा ५६५ र मिडिएम ५५० रूपैयाँ कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट ५६० रूपैयाँ पुगेको थियो । क्रमशः मूल्य घटेर ४०० रूपैयाँमा झरेको थियो ।
संघघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट २० ले बढेको हो । उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो ।
भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको हो ।

