CLI

बढ्न थाल्यो सेयर बजारमा चहलपहल, चुनाव नजिकिएसँगै माहोल बनेको हो ? यसअघिका निर्वाचनमा के भएको थियो ?

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । पछिल्ला दिनहरुमा नेप्से सूचक विस्तारै बढ्दै जानु र कारोबार रकममा सुधार देखिनुले बजारमा केही सकारात्मक माहोल बनेको जानकारहरु बताउँछन् । लामो समयदेखि साइडवेज अवस्थामा रहेको सेयर बजारले अब नयाँ दिशा खोजिरहेको बताइन्छ ।

चुनावी माहोल बनिरहँदा लगानीकर्ताहरु आशावादी हुने स्वाभाविक हो । नयाँ सरकार गठनपछि आर्थिक गतिविधि तीव्र हुने, पुँजी बजार विकासका लागि नीतिगत सुधार हुने र समग्र अर्थतन्त्रले लय समात्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । यही अपेक्षाले बजारमा छोटो अवधिको सकारात्मक मनोविज्ञान सिर्जना गरेको देखिन्छ । कात्तिक महिनादेखि नेप्से सूचक करिब ८ प्रतिशतले बढ्नु पनि यसैको संकेत रहेको जानकारहरुको भनाई छ ।

सामान्यतः चुनावको समयमा सेयर बजार बढ्छ भन्ने बुझाइ लगानीकर्तामाझ रहँदै आएको छ । नयाँ सरकारले पुँजी बजारलाई प्राथमिकतामा राख्ने आशा रहेको छ । अझ लामो समयदेखि बजार ओरालो वा स्थिर अवस्थामा रहेकाले सेयर मूल्यहरु सस्तो हुनु नयाँ प्रवेशकर्ताका लागि आकर्षक अवसरको रुपमा देखिन थालेको छ ।

तथापि, चुनावको समयमा बजार बढ्ने कुरामा कुनै ठोस आधार भने देखिँदैन । पछिल्ला तथ्यांकहरु हेर्दा चुनावको समय कुनै वर्ष बजार बढेको छ भने कुनै वर्ष घटेको पनि देख्न सकिन्छ । बजारको आफ्नै लय हुन्छ । निर्वाचन लगायत राजनीतिक घटनाका कारण सेयर बजारमा छोटो समय उतारचढाव देखिएता पनि यसले बजारको समग्र ट्रेन्ड नै परिवर्तन गर्न नसक्ने कतिपय विश्लेषकहरुको भनाई रहँदै आएको छ ।

तर, यसपटक भने निर्वाचनले सकारात्मक प्रभाव पार्न सक्ने धेरैको भनाई छ । किन भने बजारले अब वियरिस चक्र पूरा गर्ने बेला भइसकेको छ । नयाँ शक्तिको उदय हुने आशा छ ।  नयाँ र आशावादी व्यक्तिहरुले चुनावमा सहभागिता जनाएका छन् । साथै,, वियर सकिएर बुल सुरु हुने बेला पनि भएको भएर लगानीकर्ता निकै आशावादी बनेका हुन् ।

यद्दपि, बजार पूर्ण रुपमा बुलिस ट्रेन्डमा प्रवेश गरिसकेको भन्न मिल्दैन, तर लगानीकर्ताको मनोविज्ञान क्रमशः सकारात्मक बन्दै गएको देखिन्छ । राजनीतिक दलहरु समेत पछिल्ला दिनमा पुँजी बजार र अर्थतन्त्रप्रति सकारात्मक देखिनु लगानीकर्ताका लागि थप भरोसाको विषय बनेको छ। सेयर बजारका एक विश्लेषकले अहिले चुनावी माहोल बढेको र लामो समयदेखि बजार स्थिर जस्तै रहेकाले नेप्सेले केही सकारात्मक मुभमेन्ट बनाउन खोजेको बताउँछन् ।

उनले भने, ‘मैले यही स्पिडमा बजार बढेर अब बुलिस ट्रेन्ड नै सुरु भयो भन्न खोजेको होइन, चुनावपछि कस्तो अवस्था आउँछ वा कस्तो सरकार बन्छ भन्नेमा पनि अनिश्चितता नै रहन्छ । चुनावमा जहिले पनि अनिश्चितता हुन्छ चाहे पोजेटिभ वा नेगेटिभ । त्यो हुने बित्तिकै केही राम्रो या नराम्रो हुन सक्छ भनेर बजार तरंगीत भएको हो ।’ चुनावमा जितेर नेतृत्व गर्ने दलले पुँजी बजारमैत्री नीतिहरु ल्याउँछन् या ल्याउँदैनन् भन्ने कुराहरुले पनि यसमा केही प्रभाव पर्ने गरेको उनले बताए ।

‘अन्तिममा पोलेसी मेकर राजनीतिक दलहरु नै हुने भएकाले उनीहरुले बनाउने नीतिले बजारमा प्रभाव पार्छ’ उनले भने, ‘अहिले भने सबै पार्टीहरु पुँजी बजारमैत्री, अर्थतन्त्रमैत्री भएको देखिन्छ । यस भन्दा अगाडि पुँजीपतिहरु भनेर व्याख्या गर्थे । अहिले उनीहरु नै पुँजीबादको रुपमा अगाडि बढ्ने जस्तो देखेर लगानीकर्तामा उत्साह बढेको हुन सक्छ ।’

सेयर बजारमा बढ्दो जनसहभागित र पछिल्ला घटना क्रमलाई हेरेर विभिन्न राजनीतिक दलहरुले यसलाई चासो र प्राथमिकताको विषय बनाउँदै आएका छन् । यी विषयले पनि लगानीकर्तामा आत्मविश्वास बढेको देखिन्छ ।

पछिल्ला निर्वाचनमा नेप्सेको चाल कस्तो थियो ?

२०६४ सालमा संविधानसभा निर्वाचनको घोषणापछि नेप्से सूचक ५०० को विन्दुबाट बढेर करिब १००० को विन्दु पार गरेको थियो । तर निर्वाचनको समय भने बजार घटेर ७०० को विन्दु आसपास झरेको देख्न सकिन्छ । निर्वाचन लगत्तै बजार फेरि बढेर करिब ११०० विन्दुसम्म पुगेको थियो । संविधानसभाको अर्को निर्वाचन विं.स २०७० मंसिरमा भएको थियो ।

२०६९ देखि ३०० को विन्दुबाट बढिरहेको नेप्से उक्त निर्वाचनको समयमा करिब ७०० विन्दुसम्म पुगेको थियो । निर्वाचनपछि पनि बजार निरन्तर रुपले बढेर १८८१ विन्दुसम्म पुगेको थियो । विगतका २ वटा निर्वाचनको समयमा पनि सेयर बजारमा केही वृद्धि देखिएता पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने नेप्से बढ्न सकेन ।

बजार २०७३ सालदेखि निरन्तर रुपमा घटिरहेको थियो । २०७३ चैतमा १७ सय विन्दुमा रहेको नेप्से चुनावको समयमा १५ सय अंकमा झरेको थियो । त्यस्तै, २०७४ मंसिरमा भएको संघीय निर्वाचनमा पनि बजारमा खासै राम्रो वृद्धि देखिएन । करिब १४७० विन्दुमा रहेको नेप्से सूचक चुनावको बेला १५ सय पार गरेपनि पछि नेप्सेमा गिरावट जारी रह्यो ।

२०७९ को निर्वाचनपछि बजार तुरुन्तै बढेन । सो समय पुष्प कमल दाहाल प्रधानमन्त्री बनेका थिए । उनको कार्यकालमा बजार साइडवेज रह्यो । जब केपी ओली वि.स २०८१ मा केपी ओली प्रधानमन्त्री बने तब बजारमा ठूलो वृद्धि देखियो । यद्दपि, यो वृद्धिले पनि निरन्तरता पाएन । तर, उनको कार्यकालमा नेप्से सूचक ४० प्रतिशतसम्म बढेको थियो ।

Leave Your Comment

Related News