बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाब हुँदाहुँदै पनि बलियो निर्यातका कारण चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक ५ प्रतिशतले विस्तार भएको सरकारी तथ्याङ्कले देखाएको छ। यद्यपि वर्षको अन्तिम त्रैमासिकमा भने आर्थिक वृद्धिदर सुस्तिँदै ४.५ प्रतिशतमा झरेको छ।
सरकारी तथ्याङ्कअनुसार अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा चीनको अर्थतन्त्र १.२ प्रतिशतले वृद्धि भएको छ, जुन सन् २०२२ को अन्त्ययताकै सबैभन्दा कमजोर त्रैमासिक प्रदर्शन हो। यसअघि तेस्रो त्रैमासिकमा अर्थतन्त्र ४.८ प्रतिशतले बढेको थियो। वार्षिक वृद्धिदर भने सरकारले तोकेको ‘करिब ५ प्रतिशत’ को लक्ष्यसँग मेल खान्छ।
बलियो निर्यातले कमजोर उपभोक्ता खर्च र निजी लगानीको क्षतिपूर्ति गर्दा चीनले सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको रेकर्ड व्यापार अधिशेष कायम गर्न सफल भएको छ। यद्यपि अमेरिकातर्फको निर्यात भने गत वर्ष करिब २० प्रतिशतले घटेको छ। अमेरिका–केन्द्रित निर्यात घटे पनि बाँकी विश्वमा भएको ढुवानीले त्यसको असर कम गरेको सरकारी अधिकारीहरूको भनाइ छ।
रियल स्टेट क्षेत्रमा लामो समयदेखि देखिएको मन्दी र महामारीपछिको आर्थिक अवरोधले अझै दबाब सिर्जना गरिरहेकाले चिनियाँ नेतृत्व तीव्र आर्थिक वृद्धिलाई पुनः गति दिन प्रयासरत छ। यसैबीच ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्धमा अस्थायी युद्धविराम विस्तार गर्ने सहमतिले निर्यातमाथिको दबाब केही कम भएको छ।
तर विशेषज्ञहरूले निर्यातमा आधारित वृद्धिको दीर्घकालीन स्थायित्वमाथि प्रश्न उठाएका छन्। डच बैंक आइएनजीका ग्रेटर चीन प्रमुख अर्थशास्त्री लिन सङका अनुसार यदि अन्य मुलुकहरूले पनि चीनमाथि आयात शुल्क बढाए भने अर्थतन्त्रमा कडा असर पर्न सक्छ।
घरेलु माग बढाउन सरकारले अघि सारेका ऊर्जा-दक्ष सवारीसाधन साटफेर कार्यक्रम र घरेलु उपकरणमा दिइएका सब्सिडीहरू अपेक्षित गतिमा अघि बढ्न सकेका छैनन्। बीएनपी परिबास एसेट म्यानेजमेन्टका वरिष्ठ रणनीतिकार ची लोका अनुसार घरेलु सम्पत्ति बजार स्थिर नभएसम्म उपभोग र निजी लगानीमा उल्लेखनीय सुधार आउन कठिन छ।
यसैबीच कृत्रिम बौद्धिकता (एआई) र उन्नत प्रविधिमा लगानी चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख प्राथमिकतामा परे पनि आम नागरिक र साना व्यवसायहरू रोजगारी र आम्दानीको अनिश्चितताका कारण दबाबमा छन्।
चीनको नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सका प्रमुख काङ् यीले सन् २०२५ मा धेरै चुनौतीबीच पनि अर्थतन्त्रले स्थिर प्रगति कायम राखेको दाबी गर्नुभएको छ। यद्यपि केही अन्तर्राष्ट्रिय विश्लेषकहरूले वास्तविक वृद्धि दर सरकारी तथ्याङ्कभन्दा कम हुन सक्ने अनुमान गरेका छन्।
विश्लेषकहरूका अनुसार सामाजिक स्थिरता कायम राख्न चीनले दीर्घकालसम्म ४ देखि ५ प्रतिशत वार्षिक आर्थिक वृद्धि कायम राख्नुपर्नेछ। डाएचे बैंकले सन् २०२६ मा चीनको अर्थतन्त्र ४.५ प्रतिशतले मात्र विस्तार हुने प्रक्षेपण गरेको छ।


