काठमाडौं । विश्वमा बढ्दो भूराजनीतिक र आर्थिक अनिश्चितताबीच सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ । बुधबार सुनको मूल्य प्रतिऔंस ४ हजार ८६० डलरमा कारोबार हुँदैछ । जनावरी महिनामा मात्रै सुन करिब १३ प्रतिशत बढेको छ । सुनको यो तीव्र उछालको मुख्य कारण अमेरिका र युरोपबीच बढ्दो व्यापार तनाव हो । यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । नेपालमा पनि सुनको रेट हालसम्मकै उच्च स्थरमा पुगेको छ । बुधबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वामित्वमा रहेको रणनीतिक आर्कटिक क्षेत्र ग्रीनल्यान्डमाथि पुनः नियन्त्रणको चाहना व्यक्त गरेपछि तनाव चर्किएको हो । साथै, ट्रम्प प्रशासनले फ्रान्स, जर्मनी र बेलायतसहित ८ युरोपेली राष्ट्रमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएपछि लगानीकर्ता जोखिमपूर्ण सम्पत्तिबाट सुरक्षित लगानीतर्फ सरेका छन् ।
यता, चाँदीको मूल्य पनि तीव्र रुपमा बढ्दै पछिल्लो एक वर्षमा करिब तीन गुणा उछाल आएपछि प्रति औंस ९५ डलरको ऐतिहासिक उच्च स्तरमा पुगेको छ ।
सुरक्षित लगानीतर्फ बढ्दो आकर्षण
विश्व सेयर बजारमा अस्थिरता बढ्दै जाँदा लगानीकर्ता सुन र चाँदीजस्ता बहुमूल्य धातुतर्फ आकर्षित भएका छन् । जापानी सरकारी ऋण बजारमा देखिएको दबाब र अमेरिकी डलरको कमजोरीले सुरक्षित लगानीतर्फको प्रवृत्ति थप बलियो बनाएको छ ।
J.P. Morgan र Citigroup जस्ता ठूला वित्तीय संस्थाका विश्लेषकहरुले सुन प्रतिऔंस ५ हजार डलरसम्म पुग्ने अनुमान गरेका छन् । उनीहरुका अनुसार विश्व अर्थतन्त्र “स्रोत राष्ट्रवाद” (resource nationalism) को चरणमा प्रवेश गरिरहेको छ, जसले सुरक्षित सम्पत्तिको मूल्य संरचनालाई पुनः परिभाषित गरिरहेको छ।
युरोपेली प्रतिक्रियाको प्रतीक्षा
युरोपेली संघले अमेरिकी कदमप्रति कस्तो प्रतिक्रिया जनाउने भन्नेमा बजारको ध्यान केन्द्रित छ । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले युरोपेली संघको Anti-Coercion Instrument सक्रिय गर्न सकिने संकेत दिएका छन् भने जर्मनीका चान्सलर फ्रेडरिक मर्जले संयमता अपनाउन आग्रह गरेका छन्, जसले युरोपभित्रको मतभेदलाई उजागर गरेको छ।
यसैबीच ट्रम्पले माक्रोंको आलोचना गर्दै फ्रान्सेली वाइन र स्याम्पेनमाथि भन्सार शुल्क लगाउन सकिने संकेत दिएपछि व्यापार विवाद व्यापक आर्थिक टकरावतर्फ जान सक्ने चिन्ता बढेको छ ।
भूराजनीतिक तनावबाहेक विकसित अर्थतन्त्रहरुमा बढ्दो सार्वभौम ऋण पनि सुनको मूल्य वृद्धिको प्रमुख कारण बनेको छ । जापानमा प्रस्तावित कर कटौती योजनापछि सरकारी बन्ड बजारमा दबाब बढेको छ । जसले अमेरिका, युरोप र जापानमा बढ्दो वित्तीय घाटाप्रति चिन्ता बढाएको छ ।
सन् २०२६ मा पनि सुनको उछाल जारी रहला ?
सुन हालकै सबैभन्दा बलियो बहुवर्षीय उछालतर्फ अघि बढिरहेको छ । तर सबै लगानीकर्ता यस उछाललाई दिगो मानिरहेका छैनन्। ब्यांक अफ अमेरिकाको सर्वेक्षणअनुसार अधिकांश फन्ड प्रबन्धकहरुले सुनलाई हाल “सबैभन्दा भीडिएको कारोबार” मानेका छन् । करिब ४५ प्रतिशतले सुनको मूल्य अत्यधिक भएको बताएका छन् ।
यद्दपि, व्यापार युद्ध, ऋण संकट, केन्द्रीय बैंकको खरिद र कमजोर डलरजस्ता कारणले गर्दा हालका लागि सुन लगानीकर्ताको सबैभन्दा प्राथमिक सुरक्षित सम्पत्ति बनेको छ। तर मूल्य तीव्र रुपमा बढ्दै जाँदा अस्थिरताको जोखिम पनि बढ्दै गएको छ ।



