CLI

नेपाल-भारतबीच निकासी वस्तुको सूचना अग्रिम आदानप्रदानमा सहमति

काठमाडौं । नेपाल र भारतबीच एक देशबाट अर्को देशमा निकासी गरिने वस्तु गन्तव्यमा पुग्नुअघि नै सम्बन्धित सूचना आदानप्रदान गर्ने विषयमा समझदारी भएको छ । उक्त समझदारीपत्रमा बुधबार भारतको नयाँदिल्लीमा हस्ताक्षर गरिएको हो ।

समझदारीपत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) का अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका छन् ।

यस समझदारीअनुसार नेपाल र भारतले निकासी हुने वस्तुको तथ्यांक अग्रिम रूपमा विद्युतीय माध्यमबाट आदानप्रदान गर्नेछन् । यसबाट भन्सार प्रक्रियालाई छिटो, सुरक्षित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समझदारीपत्रमा जोखिम विश्लेषणका आधारमा भन्सार नियन्त्रण प्रभावकारी बनाउने, जाँचपासमा लाग्ने समय घटाउने र अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने व्यवस्था समेटिएको छ । सुरुमा तोकिएका केही वस्तुमा नमूनाका रूपमा लागू गरी क्रमशः सबै वस्तुमा विस्तार गर्ने व्यवस्था गरिएको छ ।

यस समझदारीपत्रको मस्यौदा भन्सार विभाग र सीबीआईसीको सहकार्यमा तयार पारिएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृति पाएपछि सम्झौतामा हस्ताक्षर गरिएको हो ।

हस्ताक्षर समारोहमा भन्सार विभागका महानिर्देशक भण्डारीले समझदारीपत्र छिट्टै कार्यान्वयनमा ल्याइने बताए । उनले यसले दुवै देशका भन्सार प्रशासनबीचको सहकार्य मजबुत हुने र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण हुने विश्वास व्यक्त गरे ।

सीबीआईसीका अध्यक्ष विवेक चतुर्वेदीले नेपालसँग गरिएको यो सहमति सकारात्मक कदम भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि भारत प्रतिबद्ध रहेको बताए ।

Leave Your Comment

Related News