काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइबाट हटाइएका ६ वटा कम्पनीहरुले बोर्डमा पुनः आवेदन दिएका छन् । एपेक्स हस्पिटालिटी, रिचेत जलविद्युत, बेनी हाइड्रोपावर, पुवा खोला-१, प्रभु हेलिकोप्टर र ठमेल प्लाजाले बोर्डमा आइपीओ अनुमति माग्दै पुनः आवेदन दिएका हुन् ।
धितोपत्र बोर्डले गएको जेठमा मापदण्ड नपुगेका र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएका १३ वटा कम्पनीहरुलाई पाइपलाइबाट हटाएको थियो । अहिले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा धेरै र वित्तीय अवस्था सुधार भएपछि ६ वटा कम्पनीहरुले पुनः आवेदन दिएका छन् ।
‘पाइपलाइनबाट हटाइएका कम्पनीको अहिले वित्तीय अवस्था सुधार भएको कारण ती कम्पनीहरुबाट पुनः आवेदन परेको सेबोनका सहप्रवक्ता तोलाकान्त न्यौपाने बताउँछन् । उनले भने, ‘पुनः आवेदन दिने कम्पनीहरुको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा धेरै छ ।’
यता, यसअघि पाइपलाइबाट हटाइएका ७ वटा कम्पनीहरुले पनि वित्तीय अवस्था सुधार गरेर पुनः आवेदन दिन सक्नेछन् । लाफिङ बुद्ध, अन्नपूर्ण केबलकार, कान्तिपुर टिभी, सोपान फर्मास्यूटिकल्स, युनिक हाइड्रोपावर, अर्किड होल्डिङ्स, एक्कर्ड फर्मायूटिकल्सले वित्तीय अवस्था सुधार भएपछि बोर्डमा फेरि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्था कमजोर भएका कम्पनीहरुलाई आइपीओ अनुमति दिएको भन्दै सार्वजनिक लेखा समितिले वास्तविक प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आइपीओ अनुमति नदिन निर्देशन दिएको थियो । बोर्डले सोही निर्देशन अनुरुप सूचीबाट हटाएको जनाएको थियो ।
आइपीओका लागि पुनः आवेदन दिनेहरुमा एपेक्स हस्पिटालिटीले १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति मागेको छ । त्यस्तै, ठमेल प्लाजाले २२ लाख ५० हजार कित्ता, रिचेतले १६ लाख ८९ हजार ५०० कित्ता, बेनी हाइड्रोपावरले २० लाख ८० हजार, पुवा खोला- १ ले २० लाख ७० हजार र प्रभु हेलिकप्टरले ६१ लाख २५ हजार कित्ता सेयर बिक्रीका लागि अनुमति मागेका छन् ।
हाल बोर्डको पाइपलाइनमा ५६ अर्ब २२ करोड २६ लाख रुपैयाँ भन्दा धेरैको आइपीओ बिक्रीका लागि आवेदन परेको छ । ८६ वटा कम्पनीले सेयर बिक्री गर्ने अनुमति मागेका छन् ।


