CLI

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले गर्‍यो विज्ञहरूसँग छलफल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र तयारीका लागि विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित छलफल कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रका प्राथमिकताका विषयमा आफ्ना धारणा राखेका थिए । उनले नेकपा (एमाले) सुदृढ संगठन, व्यापक जनसमर्थन र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित भइसकेको बताए ।

अध्यक्ष ओलीले भूकम्पले पुर्‍याएको भौतिक क्षतिको पुनर्निर्माण एमाले नेतृत्वको सरकारले उदाहरणीय रूपमा सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै गत भदौमा भएका घटनाबाट राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुगेको क्षतिको पुनर्निर्माणका लागि एमाले उच्च मनोबलका साथ नेतृत्व गर्न तयार रहेको बताए । साथै, उनले राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न पार्टी दृढ रहेको स्पष्ट पारे ।

सरकारले हालसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रूपमा सम्पन्न गर्ने वातावरण बनाउन नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले राज्यका संयन्त्रहरूको गतिविधि एमालेले नजिकबाट नियालिरहेको जानकारी दिए ।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा आत्मसमर्पणबाट सम्भव नहुने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक परे प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने स्पष्ट पारे । कुनै पनि प्रकारको आत्मसमर्पण स्वीकार्य नहुने कुरामा पनि उनले जोड दिए ।

एमालेले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख–समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्यसहित घोषणापत्र तयार गरिरहेको अध्यक्ष ओलीले बताए । पार्टीले आगामी पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सकिने व्यावहारिक कार्यक्रमहरू समेटेर घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

Leave Your Comment

Related News