CLI

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्येक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने स्पष्ट पारिन् ।

‘मतपत्र छपाइ गरेको हरेर मलाई निकै उत्साह जागेर आयो, मतपत्र हेर्ने काम भयो, त्यो देखेर हामीलाई लाग्यो, निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ,’ उनले भनिन्, ‘प्रेसका कर्मचरीहरुले एकदमै राम्रो काम गर्नुभएको रहेछ ।’

निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले देशभर निर्वाचनको माहोल बनेको बताए । ‘तपाईंहरु निश्चिन्त हुनुस्, चुनाव आयो, फरक पर्दैन,’ उनले भनिन्, ‘चुनाव एउटै र एकैदिनमा हुन्छ, दुईचोटि हुनेवाला कहीँ छैन ।’ निर्वाचनको दिन फागुन २१ गते मौसम अनुकुल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबैतिर राम्रो भएर आएको बताइन् । सबैले मतदान गर्न पाउँछौँ भन्दै उनले मतदानको सबै नतिजा आएपछि नयाँ सरकार बन्ने र आफूहरु आफ्नो घर फर्कने बताइन् ।

‘अब राम्रो हुन्छ, हामी सबैले मतदान गर्न पाउँछौँ, त्यसको परिणाम आउँछ, त्यसपछि सरकार बन्छ र हामी थपक्क सरकार हस्तान्तरण गर्छौँ र आ–आफ्ना घरतिर जान्छौँ,’ उनले भनिन् ।

Leave Your Comment

Related News