काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबारको नमाजका क्रममा एक इमामबर्गाहमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । विस्फोट इस्लामाबादको टरलाइ क्षेत्रमा रहेको इमामबर्गाह खादिजा अल–कुब्रा मा भएको हो। घटनाका बेला मस्जिदमा ठूलो संख्यामा श्रद्धालुहरू उपस्थित थिए।
यो आक्रमण उज्बेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभको दुईदिने आधिकारिक पाकिस्तान भ्रमणकै क्रममा भएको हो, जसले सुरक्षा चिन्तालाई थप गम्भीर बनाएको छ। इस्लामाबाद क्यापिटल टेरिटोरी प्रहरीका प्रवक्ता ताकी जवादले विस्फोटको प्रकृति अझै पुष्टि हुन नसकेको बताए पनि प्रारम्भिक संकेतहरू आत्मघाती आक्रमण तर्फ इङ्गित गरिरहेको बताए।
जिल्ला प्रशासनका अनुसार विस्फोटस्थललाई सुरक्षाकर्मीले पूर्ण रूपमा घेराबन्दी गरेका छन् । घाइतेहरूको उपचारको व्यवस्थापन गर्न सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई विभिन्न अस्पतालमा खटाइएको छ।
घटनापछि प्रहरी र रेस्क्यु ११२२ का टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेका थिए। संघीय राजधानीका पोलिक्लिनिक, पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) र CDA अस्पताल मा आपतकाल घोषणा गरिएको छ।
PIMS का कार्यकारी निर्देशकको निर्देशनमा अस्पतालमा आपतकाल लागू गरिएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन्। मुख्य आपतकालीन कक्ष, अर्थोपेडिक, बर्न सेन्टर र न्युरोलोजी विभाग सक्रिय गरिएको छ। घाइतेहरूलाई PIMS र पोलिक्लिनिक अस्पतालमा सारिएको छ।


