CLI

बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग

नेपालगञ्ज  ।  बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरी मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत स्थानमा आजसम्म ती हातहतियार बुझाइएको जानकारी दिए । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो । बुभाइएका हातहतियारमा भरुवा बन्दुक बारबोरलगायत रहेका छन् ।

यसैबीच बाँकेमा मतदाता शिक्षाका गाउँगाउँ पुर्‍याइने तयारी गर्न थालिएको छ । प्रनिनिधिसभा सदस्य २०८२ का निम्ति जिल्लामा रहेका आठ स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षाका लागि गाउँगाउँ पुर्‍याउन थालिएको हो ।

बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले मतदाता शिक्षाका लागि स्थानीय तहमा स्वयंसेवक परिचालन गर्न पत्राचार भइसहेको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्लाका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन हुने बताए । “निर्वाचन आयोगबाट कार्यक्रम आइसकेको छ, केही प्राविधिक काम बाँकी छ, त्यसपछि हामी मतदाता शिक्षा कार्यक्रम सुरु गर्छौँ,” उनले भने ।

निर्वाचन अधिकारी शाहीका अनुसार मतदाता शिक्षाका लागि केही दिनमा सम्पर्क व्यक्तिलाई तालिम प्रदान गरिने र सम्पर्क व्यक्तिले पुनः स्थानीय तहका वडामा भएका स्वंयसेवकलाई तालिम दिएर मतदाता शिक्षा गाँउगाउँ तथा टोल टोल पुर्‍याउने लक्ष्य लिइएको छ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । जिल्लामा एक सय ३९ मतदानकेन्द्र र चार सय मतदानस्थल रहेका छन् ।

Leave Your Comment

Related News