CLI

अर्थमन्त्रीले भने-प्रतिनिधि सभा निर्वाचन पछि मात्र स्वास्थ्य बीमावापतको भुक्तानी टुँगो लाग्छ

काठमाडौं ।  अर्थमन्त्री रामेश्वर खनालले स्वास्थ्य बीमा वापतको भुक्तानी प्रतिनिधि सभा पछि मात्र निर्णय लिने बताएका छन् । उनले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रहेको अर्बौ भुक्तानी तत्काल दिन नसक्ने बताएका हुन् ।

मन्त्री खनालले पछिल्लो समय स्वास्थ्य बीमावापत भुक्तानीको लागि अर्थले १ अर्बको स्रोत व्यवस्थापन गरेको बताए । स्वास्थ्य मन्त्रालयले ७२ करोड र अर्थले दिएको १ अर्ब गरी कुल १ अर्ब ७२ करोड स्वास्थ्य बीमा वापत् भुक्तानी भएको उनले जानकारी दिए ।

‘अर्थले बीमा भुक्तानीको लागि भन्दै १ अर्ब स्वास्थ्य मन्त्रालयलाई दिएको हो तर अहिलको सरकार निर्वाचन, सुशासनको लागि बनेको हुँदा पहिलो दायित्व निर्वाचन भएको हुँदा निर्वाचनको लागि पर्याप्त स्रोत व्यवस्था गर्नुपर्ने दायित्व हामी माथि रहेको छ,’ उनले भने,‘ त्यसैले गर्दा निर्वाचनमा कमी कमजोर हुन नदिन पर्याप्त बजेट व्यवस्था गर्नु आवश्यक छ, यदि निर्वाचन पछि बजेट भएको खण्डामा मात्र बीमावापतको रकम भुक्तानी गर्न सक्छौं ।’

मन्त्री खनालले स्वास्थ्य बीमाको स्रोत व्यवस्थापनका समस्या आउनुमा अर्थ मन्त्रालय नभई स्वास्थ्य मन्त्रालय जिम्मेवार रहेको समेत बताए । मन्त्रालयले बजेट निर्माण गर्दा स्वास्थ्य बीमाको लागि आवश्यक बजेट अर्थात् ठूलो आकारको बजेट निर्माण गर्न सक्थ्यो होला जसले गर्दा हामीले स्रोत व्यवस्थापन गर्नुपर्ने दायित्व हुन जान्थ्यो त्यसैले गर्दा बीमा भुक्तानी तत्काल सम्बोधन नहुने उनको भनाई छ ।
यता स्वास्थ्य मन्त्रालयले भने १४ अर्ब भुक्तानी नदिए बीमा कार्यक्रम अघि बढ्न नसक्ने बताएको छ ।

स्वास्थ्यमन्त्री सुधा गौतमले माघ २१ गते प्रधानमन्त्रीलाई तत्काल १४ अर्ब नदिए स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउन नसकेको जानकारी गराएकी थिइन् । बीमा कार्यक्रम अन्तर्गत करिब एक करोड नागरिक आवद्ध रहेका छन् ।

स्वास्थ्य बीमा बोर्डमा ५१० अस्पताल आबद्ध छन्। २०८१ चैत मसान्तसम्म सबै अस्पतालको दाबी रकम भुक्तानी भइसके पनि २०८२ वैशाखदेखि असोज मसान्तसम्मको कुल दाबी रकमको ४६ प्रतिशत मात्र भुक्तानी भएको छ। बाँकी ५४ प्रतिशत र त्यसपछिका कात्तिक, मंसिर र पुस महिनाको समेत गरी करिब १२ अर्ब तिर्न बाँकी छ।

Leave Your Comment

Related News