काठमाडौं । अर्थ मन्त्रालयले रासायनिक मल खरिदका कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई २० अर्ब बढीको स्रोत सहमति दिएको छ। कृषि मन्त्रालयले धानबालीका लागि मल खरिद गर्न थप बजेट माग गरेपछि अर्थ मन्त्रालयले २० अर्ब २७ करोड ८० लाख उपलब्ध गराउने भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षामार्फत सरकारले बहुवर्षीय खरिद प्रक्रियाका लागि यो सहमति दिएको हो। विनियोजन ऐन २०८२ र बहुवर्षीय आयोजना मापदण्ड २०८२ बमोजिमका आवश्यक प्रक्रिया र औचित्य पुष्टि भएपछि मन्त्रालयले मल खरिदका लागि यो बजेट सुनिश्चितता पाएको हो।
हिउँदे बालीका लागि मलको अभाव नभए पनि बर्खे धानबालीलाई आपूर्ति व्यवस्था सहज बनाउन कृषि मन्त्रालयले अहिलेबाटै मल आपूर्ति व्यवस्थापन गर्न लागेको हो।


