काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुससम्म ३ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४.८० प्रतिशत कम हो । गत वर्षको पुसमा कम्पनीहरुले समग्रमा ३ अर्ब ४८ करोड नाफा आर्जन गरेका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ इस्योरेन्स रहेको छ । यसले ३९ करोड ५८ लाख नाफा कमाएको छ । नेपाल लाइफले ३३ करोड ६९ लाख, नेशनल लाइफले २८ करोड ६८ लाख नाफा आर्जन गरेको छ ।

त्यस्तै, कम्पनीहरुले ६ महिनामा ९३ अर्ब १८ करोड भन्दा धेरै बिमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १३.५७ प्रतिशत धेरै हो । गत वर्षको पुसमा बिमा कम्पनीहरुले ८२ अर्ब ४ करोड बिमा शुल्क संकलन गरेका थिए ।
सबैभन्दा धेरै उक्त शुल्क संकलन गर्नेमा नेपाल लाइफ अगाडि छ । यसले ६ महिनामा २५ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको छ । नेसनल लाइफले १० अर्ब ७३ करोड, एलआइसी नेपालले १० अर्ब १८ करोड र हिमालयन लाइफले ८ अर्ब ४० करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।



