काठमाडौं । निर्जीवन बीमा कम्पनीको लगानी ६४ अर्ब बढी रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६४ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेका हुुन् ।
जसमा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा मात्रै निर्जीवन बीमकहरूले ४६ अर्ब ५१ करोड ३ लाख रुपैयाँ लगानी गरेका छन् । निर्जीवन बीमकको कुल लगानी ७२.३५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा रहेको छ । पुस मसान्तसम्म निर्जीवन बीमकहरूले क वर्गका बैंकहरूमा ४१ अर्ब ३१ करोड ४ लाख रुपैयाँ, ख वर्गका बैंकमा ४ अर्ब १९ करोड ६३ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब ३५लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गरेका छन् ।
यसैगरी बीमकहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा ६३ करोड ३५ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सेयरमा ५ अर्ब ३६ करोड ८ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरूको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब १५ करोड २ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १७ करोड २१ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा २ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन् ।
यता निर्जीवन बीमकहरूले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब १० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा १ अर्ब १४ करोड ५२ लाख रुपैयाँ लगानी गरेका छन् । यसैगरी सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा २ अर्ब ५० करोड रुपैयाँ बढी लगानी गरेको देखिएको छ । आव २०८२/८३ को पहिलो त्रैमाससम्म लघु निर्जीवन बीमकले कुल २ अर्ब ५० करोड ९१ लाख रुपैयाँ लगानी गरेका हुन् ।
सबैभन्दा लगानी गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीले विभिन्न क्षेत्रमा ८१ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । दोस्रोमा स्टार माइक्रोले ५८ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । प्रोटेक्टिभ माइक्रोले ५६ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । यसैगरी ट्रस्ट माइक्रोले ५४ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । चार निर्जीवन लघु बीमकको सर्वाधिक लगानी बैंकहरूको मुद्दती निक्षेपमा रहेको देखिन्छ ।
‘क’ वर्गका बैंकहरूको निर्जीवन लघु बीमकले १ अर्ब ९८ करोड ४ लाख रुपैयाँ, ‘ख’ वर्गका बैंकहरूमा १४ करोड ६१ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्तीय संस्थाहरूमा ५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको देखिन्छ । त्यस्तै निर्जीवन लघु बीमकहरूले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३१ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । जसमा स्टार माइक्रो इन्स्योरेन्सले लगानी गरेको छैन ।
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७३ लाख रुपैयाँ रहेको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रोले मात्रै लगानी गरेका छन् । उक्त चार कम्पनीहरूले नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा ९० लाख रुपैयाँ लगानी गरेका छन् । जसमा प्रोटेक्टिभ माइक्रोले भने लगानी गरेको छैन ।


