CLI

चुनाव नजिकिँदै गर्दा सेयर लगानीकर्ता भने ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौं । चुनाव नजिकिँदै गर्दा सेयर बजारमा लगानीकर्ताहरु ‘पर्ख र हेर’को स्थितिमा छन् । आगामी नयाँ सरकार गठन भएपछि कुन प्रकारको नीति निर्माण हुनेछ, कुन दलको सरकार बन्नेछ, र सरकारले सेयर बजारलाई प्राथमिकता दिने नीति अपनाउनेछ कि छैन भन्ने विषयमा स्पष्टता नभएकाले लगानीकर्ताहरुले अहिले सक्रिय रुपमा लगानी गर्न हिचकिचाइरहेका छन् ।

यसै कारण दैनिक कारोबार रकममा गिरावट आएको छ भने प्रमुख इन्डेक्सहरुमा पनि ठूलो उतारचढाव देखिएको छैन । यद्दपि, हाल सरकारले वित्तीय बजारको लागि केही सकारात्मक पहलहरु गरेका छन् । बैंकिङ प्रणालीमा ब्याजदरहरु कम गरिएको छ, जसले सेयरधितो कर्जालाई थप आकर्षक बनाएको छ । त्यस्तै, सेयरधितो कर्जामा लगाइएको अधिकतम सीमा (क्याप) घटाइएको छ र यस कर्जा सहज रुपमा उपलब्ध गराइएको छ ।

बजारमा तरलता वृद्धि गर्न ब्रोकरहरुले मार्जिन सेवा प्रदान गर्न सुरु गरेका छन्, जसले लगानीकर्तालाई आवश्यक पर्ने पुँजीको पहुँचलाई सहज बनाएको छ ।

यी सकारात्मक आर्थिक र वित्तीय संकेतहरु हुँदाहुँदै पनि लगानीकर्ताहरु चुनावको परिणाम र आगामी नीतिगत दिशा स्पष्ट नभएसम्म जोखिम लिन हिचकिचाइरहेका सेयर बजारका जानकारहरु बताउँछन् । यसको प्रभाव प्रत्यक्ष रुपमा दैनिक कारोबार रकममा देखा परेको छ, जसले बजारमा सीमित तर स्थिर उतारचढावको स्थिति सिर्जना गरेको छ।

बुधबार नेप्से सूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको छ । यसदिन ३३३ स्क्रिप्टको ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये १५७ वटाको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको छ । बाँकीको स्थिर देखिन्छ ।

सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, विन नेपाल लघुवित्त र सुपरमाई हाइड्रोपावरको सेयर भाउ ९ प्रतिशत भन्दा धेरैले बढेको छ । हिमालयन पावरको सबैभन्दा धेरै ५.९८ प्रतिशतले सेयर भाउ घटेको छ । आँखु खोलाको सबैभन्दा धेरै २८ करोड ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । फाइनान्स, म्युचुअल फन्ड, ट्रेडिङ समूह मात्र घटेको छ ।

अहिलेको सेयर बजार नीति र राजनीतिक अनिश्चितताको मिश्रणको प्रभावमा छ। लगानीकर्ताहरुको मनोवृत्ति “वेट एन्ड वाच” रहेको कारण बजारमा ठूला उतारचढाव छैन । यदि चुनावपछि स्थिर सरकार गठन भई र बजारमैत्री नीतिहरु लागू भए, त्यसले पुनः बजारमा सक्रियता र सकारात्मक उतारचढाव ल्याउने सम्भावना राख्ने जानकारहरु बताउँछन् ।

Leave Your Comment

Related News